ओलीको पुच्छर बन्दा थापाले २ घण्टाभित्रै २ शक्तिशाली पद गुमाए

काठमाडौं । गृहमन्त्री बन्न माओवादी केन्द्र छाडेर प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई साथ दिएका रामबहादुर थापालाई बिहीबार डकल धक्का लागेको छ ।

थापाको बिहीबार गृहमन्त्री पद पनि फुत्किएको छ । राष्ट्रिय सभाको बाग्मतीको उप–निर्वाचनमा नराम्रोसँग पराजित भएका छन् ।

सर्वोच्च अदालतले सांसद नै नरहेको व्यक्तिलाई मन्त्री बनाउन नहुने फैसला गरेपछि थापासहित माओवादी छाडेर मन्त्री खान एमाले बनेका सात जना पूर्वमाओवादी नेताहरूको मन्त्री पद बिहीबारदेखिनै खोसिएको थियो ।

उता, हेटौँडामा बिहीबार भएको उप–निर्वाचनमा थापालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको सहयोग रहेका खिमलाल देवकोटाले नराम्रोसँग पराजित गरिदिएका छन् ।

ओलीले थापालाई सांसद पदमा जिताउन निर्वाचन आचारसंहिता उल्लंघन गरेर बुधबार मतदाताहरूलाई भोट हाल्न धम्की समेत दिएका थिए ।

कांग्रेससहितका दलहरूले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरको भन्दै कारबाहीको माग गरेर ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी समेत दिएका छन् । आचारसंहिता उल्लंघन गरेर हर्कत गर्दा पनि ओलीले थापालाई राष्ट्रिय सभामा जिताउन सकेनन् ।

माओवादी छाडेर आएका सात जना गैरसांसदहरूलाई मन्त्रीमा राख्न पनि सकेनन् । ओली चारैतिरबाट घेरिएका बेला झन् एक्लिएका छन् ।

गृहमन्त्रीको हैसियतमा बुधबार हेटौंडा पुगेका थापा काठमाडौं फर्किने बेलासम्म शक्तिशाली गृहमन्त्रीबाट साधारण नागरिक बनिसकेका छन् ।

ओलीको पछाडि लागेर पाएको सबै पावरहरू थापाले गुमाएका छन् । बिहीबार थापाले सबै हैसियत सबै समाप्त भएको छ ।

उप–निर्वाचनमा पराजित भएसँगै थापाले अब अर्को चुनाव नहुँदासम्म सांसद हुन पाउने छैनन् । चुनाव हुँदा पनि थापाले प्रत्यक्षतर्फबाट चुनाव जित्ने सम्भावना झिनो छ । किनकी उनको आफ्नै निर्वाचन क्षेत्र छैन ।

एमाले उम्मेदवार थापालाई हराएका देवकोटाले ५ हजार ८८ मतभार पाएका छन् । थापाले ४ हजार १४ मतभार पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले १३२ मतभार पाएका छन् ।

थापाले भने एमालेको ओली पक्षसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन पाएका थिए । नेपाल मजदुर किसान पार्टीले आफै उम्मेदवारी दिएको थियो । विवेकशील साझा पार्टीले मतदानमा भाग नलिने निर्णय गरेको थियो ।

Published : Thursday, 2021 May 20, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया