दलबलसहित देउवाले ओलीलाई भेट्ने, कांग्रेसले कम्युनिस्ट सरकारको ‘कठालो’ समात्ने

काठमाडौं । कम्युनिस्ट सरकारले कोरोना महामारीका बेला जनताको जीवन रक्षा गर्न लापरबाही गरेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेर गम्भीर बन्न दवाव दिने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर कोरोना महामारीबाट जनताले समस्या भोग्नु परेको भन्दै उपचारमा ध्यान दिन दवाव दिनेछन् । नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिको सल्लाह र सुझावमा देउवाले ओलीलाई भेटेर दवाव दिन लागेका हुन् ।

सभापति देउवाले खोप, उपचार, अक्सिजन, भेन्टिलेटर, निषेधाज्ञाबाट विपन्न वर्ग समस्यामा परेको र उनीहरूलाई राहत लगायतका माग राखेर ज्ञापन पत्र बुझाउन लागेको सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई भेट्न सभापति देउवाको नेतृत्वमा कांग्रेसका नेताहरू जान लागेको डा.महतले बताए ।

कोभिड–१९ अनुगमन समितिले सात वटै प्रदेशका स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र प्रतिनिधि सभाका सांसद, केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिलगायतहरूसँग जुममार्फत अन्तरक्रिया गरेर कोरोना रोकथाम र उपचारका विषयमा सुझाव संकलन गरेको थियो । ती सुझावहरूलाई समेटेर कांग्रेसले ओलीलाई ज्ञापन पत्र बुझाउनेछ ।

कांग्रेसले कोरोनाबाट जनतालाई बचाउन छिटोभन्दा छिटो खोप ल्याएर लगाउन पनि दवाव दिनेछ । विज्ञहरूले कोरोनाको तेस्रो लहर आउने सक्ने चेतावनी दिएको भन्दै कांग्रेस सभापति देउवाले सात वटै प्रदेशमा बालबालिकाहरूको उपचारका लागि अस्पतालको व्यवस्था गर्न माग गरिसकेका छन् ।

तेस्रो लहरको कोरोनाले बालबालिकालाई धेरै असर गर्ने विज्ञहरूले चेतावनी दिइसकेका छन् । नेपालमा तेस्रो भेरियन्टको कोरोना पनि फेला परिसकेको छ ।

कांग्रेसले कोरोना रोकथाम र उपचारमा ओली सरकारले काम गर्न नसकेको आरोप लगाउँदै आएको छ । समय रहँदासम्म ओली सरकार कानमा तेल हारेर बसेको थियो । सोही कारण कोरोनाका संक्रमितले अक्सिजन र उपचारका लागि अस्पतालहरूमा बेड नपाएर मर्नु परेको छ ।

मुलुकको अवस्था कोरोनाका कारण भयाबह अवस्थामा पुगेपछि कांग्रेसले ओलीलाई दवाव सिर्जना गर्न लागेको छ ।

Published : Wednesday, 2021 May 19, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया