सोलुखुम्बु कांग्रेसको अधिवेशन सम्पन्न, सूर्यबहादुर राई सभापतिमा निर्वाचित

सल्लेरी । नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशनबाट सभापतिमा सूर्यबहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सोलुखुम्बु कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट जिल्ला, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको नेतृत्व चयन गरिएको छ ।

उत्साहजनक सहभागितामा सम्पन्न अधिवेशनले राईलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो । सभापतिमा निर्वाचित राई महाकुलुङ्ग गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

केन्द्रीय महाधिवेशनका लागि गोकर्ण राई, पदमबहादुर राई, श्रीलाल थापा मगर, मोतीप्रसाद राना मगर, दुर्गाप्रसाद दर्जी, तेजप्रसाद आचार्य तथा युवामा नेबिसंघ पूर्व केन्द्रीय सदस्य पारस बस्नेत लगायत ३५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

यी प्रतिनिधिहरूले मंसिर २०–२३ गते काठमाडौंमा हुन गइरहेको केन्द्रीय महाधिवेशनमा सोलुखुम्बुको प्रतिनिधित्व गर्नेछन् ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र नं. १ को सभापतिमा वेदनाथ बास्तोला र प्रदेश निर्वाचन क्षेत्र नं. २ को सभापतिमा ए.डी. शेर्पा निर्वाचित भएका छन् । दुवै प्रदेश समितिले पार्टीको संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने जिम्मेवारी पाएका छन् ।

महाधिवेशनबाट एक नगरपालिका तथा सातैवटा गाउँपालिकाका सभापतिहरू पनि निर्वाचित भएका छन् । यसले जिल्लाका सबै स्थानीय तहमा पार्टीको संगठनात्मक संरचना पूर्ण भएको जनाएको छ ।

१५औं नियमित महाधिवेशन अन्तर्गतको जिल्ला अधिबेशनले सोलुखुम्बु कांग्रेसको संगठन विस्तार, कार्यकर्ताबीच एकता र स्थानीय विकासका सवालमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको सभापति सूर्यबहादुर राईले बताएका छन् ।

Published : Saturday, 2026 November 21, 8:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया