गगनभन्दा तल राखेपछि ओली निर्वाचन आयोगको बैठकबाट ५ मिनटमै बाहिरिए

काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा निकै छोटो समय बसेर फर्किएका छन् ।

शनिबार निर्वाचन आयोगले कान्तिपथस्थित कार्यालयमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरूलाई बोलाएको थियो । आयोगले राजनीतिक दलहरूसँग स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेताहरूलाई बोलाएको हो ।

छलफलमा सहभागी एक नेताका अनुसार निर्वाचन आयोगले नेताहरूलाई बस्नको लागि प्रतिनिधि सभामा जितेको सिटको संख्याका आधारमा व्यवस्था गरेको थियो । ओली प्रमुख निर्वाचन आयुक्त बसेको कुर्सी नजिकै राजनीतिक दलहरूका लागि व्यवस्था गरिएको कर्सीमा बस्न खोजेका थिए । त्यसपछि निर्वाचन आयोगका कर्मचारीहरूले गगन थापा बसेको कुर्सीभन्दा बायाँतर्फको स्थिानमा रहेको कर्सीमा बस्न भनेका थिए । त्यसपछि ओलीले बैठक कक्षमा यतायता हेरेर मुस्किलले ५ मिनट बसेर बाहिरिएको ती नेताले बताएका छन् ।

निर्वाचन आयोगका कर्मचारीहरूले ओलीलाई एमालेको अध्यक्षभन्दा पनि पूर्वप्रधानमन्त्रीका रुपमा ध्यान दिनुपर्ने थियो । कर्मचारीहरूले एमालेको अध्यक्षको हैसियतमा ओलीलाई व्यवहार गरेपछि ५ मिनट पनि बैठकमा नबसेर बाहिरिएको ती नेताले बताए ।

निर्वाचन आयोग पुगेर केहीबेरमै बाहिरिएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘आउँदै आएन भन्ने नपरोस् भनेर’ उपस्थित भएको बताए ।

रास्वपा, कांग्रेस, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाइएको थियो ।

शीर्ष नेताहरू छलफलमा बस्दा तपाईं किन बस्नु भएन भन्ने प्रश्नमा ओलीले भने, ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ ।’

निर्वाचन आयोगको छलफलमा एमालेको तर्फबाट निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल सहभागी भएका थिए ।

Published : Friday, 2026 November 20, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया