न्यायाधीश कतै नबिकेमा सर्वोच्चले हाम्रै पक्षमा निर्णय गरिदिनेछ : सभापति देउवा

बागलुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने विश्वास रहेको बताएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार बागलुङ जिल्ला अधिवशेनलाई सम्बोधन गर्दै देउवाले न्यायाधीशहरू नबिक्नेमा आफू विश्वस्त रहेको बताए ।

देउवाले भने, ‘हिजो मलाई पञ्चायतकालमा नियन्त्रणमा राखेको थियो । अदालतको फैसलाले छाडिदियो । पूर्वराजा ज्ञानेन्द्रका पालामा पनि शाही आयोगले मलाई थुनेको थियो । सर्वोच्चले राजाको अगाडि छाड्ने के हिम्मत गर्ला र भन्ने लागेको थियो, त्यो बेला पनि छाडेको थियो ।’

यस पटक पनि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता आफ्नो पक्षलाई दिने उनले बताए । ‘यस पटक पनि विश्वास छ, न्यायाधीश कतै नबिकेमा सर्वोच्चले हाम्रै पक्षमा निर्णय गरिदिनेछ,’ देउवाले भने ।

गगन थापा समूहले तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेस हाइज्याक गरेको छ । कांग्रेसको आधिकारिकता निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगन समूहले पाएको थियो ।

कांग्रेसको आधिकारिकता पाउन गगन थापाले विचौलिया इनम सापकोटामार्फत् सर्वोच्च अदालतका न्यायाधीशहरूसँग १८ करोडको डिल भएको अडियो सार्वजनिक भएपछि सारङ्गा सुवेदीसहितका न्यायाधीश र निर्वाचन आयोगको तत्कालीन नेतृत्व बिकाउ भएको भनेर आरोप लागेको थियो ।

Published : Friday, 2026 November 20, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया