कांग्रेसको प्रदेश कार्यसमितिको विधान टुंगियो, उपसभापति र महामन्त्रीमा महिला अनिवार्य

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमितिको बिधान टंगिएको छ ।

बिहीबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र विधान समितिका संयोजक तथा सदस्यहरुसहितको बैठकले प्रदेश कार्यसमितिको बिधानलाई अन्तिम रुप दिएको हो । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरका अनुसार प्रदेश कार्यसमितिमा एक जना महिला उपसभापति र एक जना महिला महामन्त्री अनिर्वाय रहने गरि विधान परिमार्जन भएको छ ।

पदाधिकारीहरुको संख्या वृद्धि भएको सभापति बलायरले बताए । उनले कार्यसमितिको आकार पनि बढेर १ सय १६ सदस्यीयसम्म पुगेको बताएका छन् ।

केन्द्रीय कार्यसमितिको विधानका विषयमा अर्को बैठकबाट टंगो लगाइने सभापति बलायरले बताए । केन्द्रीय कार्यसमितिमा रहने पदाधिकारी र सदस्यहरुको संख्या लगायतका विषयमा प्रस्ताव बनाउने कार्य भएको उनले बताए ।

बैठकमा सभापति देउवाका साथै नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइराला, नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, उमाकान्त चौधरी, एनपी साउद, रमेश लेखक, रंगमती शाही, खम्बबहादुर खाती तथा विधान समितिका संयोजक शिव हुमागाईंको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2026 November 19, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया