निर्वाचन आयोग र सारङगासहित केही न्यायाधीशहरू बिकाउ भए : जीतजंग बस्नेत

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले निर्वाचन आयोग र अदालतका केही न्यायाधीशहरू बिकाउ भएको बताएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार गोरखामा गोरखा जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले निर्वाचन आयोगको तत्कालीन नेतृत्वमध्यका दुई जना बिकाउ भएको बताए । उनले सर्वोच्च अदालतमा कांग्रेसलाई बेच्न बिचौलिया इनम सापकोटा प्रकणमा १८ करोडको कुरा बाहिर आएको बताए ।

नेता बस्नेतले सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीसहितका केही न्यायाधीशहरूलाई महाअभियोग लगाएर कारबाबाही गर्न माग माग गरेका छन् । उनले निर्वाचन आयोगका तत्कालीन कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त सगुनशम्शेर राणामाथि छानविन गरेर कारबाहीको माग गरेका छन् ।

नेता बस्नेतले भने, ‘महेश श्रेष्ठ को रहेछ ? भनेको त उमेश श्रेष्ठको भाइ रहेछन् । इनम सापकोटाको सेटिङमा यहि अदालतको सेटिङ, निर्वाचन आयोगको सेटिङमा आज उमेश श्रेष्ठ भाग्नु परेको छ । सिङ्गापुर भाग्नु परेको छ ।’

‘अब त्यो दिन आउँदैछ तपाईहरूले हेर्नुस् । पार्टी किन्नको लागि उमेश श्रेष्ठको मात्रै पैसा होइन,’ नेता बस्नेतले भने, ‘विनोद चौधरीको पनि पैसा खर्च भएको छ । पार्टी आज जुन ढंगले विनोद चौधरीलाई बेचिएको छ, उमेश श्रेष्ठलाई बेचेको छ, भोलिको दिनमा यो कारबाहीको परिधिमा विनोद चौधरी पनि पर्छन् । पार्टी कसैको बाउको बपौता होइन । पार्टी कसैले किनेर, बेचेर बिक्दैन ।’

नेता बस्नेतले भने, ‘निर्वाचन आयोग एउटा बिकाउ संस्था भयो । निर्वाचन आयोगले दुई दिनमा गगन थापाहरूले एउटा विशेष महाधिवेशन संविधान ढंगले हाम्रो विधानमै नमिल्ने कुरा अबैधानिक ढंगले गरेको कुरालाई रुख र चारतारा झण्डा दियो । अहिले अध्यावधि हुन सकेको छैन । हामीलाई अदालतले निस्सा दिएको कारणले पनि होला ।’

‘अरु कुरा छानविन भएको भन्ने कुरा आएको छ । पैसाको भरले निर्वाचन आयोग बिक्ने ? निर्वाचन आयोग बिक्ने हो भने पार्टी र जनताले कसरी न्याय पाउँछन् ? अदालत बिकेको छ । १८ करोडको कुरा आएको छ । ३ करोडको कुरा आएको छ । सारङ्गा सुवेदीले पैसा खाएको कुरा छ । न्याय सम्पादन अलग जानु पर्ने होइन ? उहाँमाथि कारबाही हुनुपर्ने होइन । महाअभियोग लगाउनुपर्ने होइन ? त्यस्तो न्यायाधीशहरूबाट देश र जनताले न्याय पाउँछन् ?,’ नेता बस्नेतले भने ।

उनले भने, ‘सबै न्यायाधीशहरू बिकाउ छैनन् । बिकाउ न्यायाधीशहरू जसले सेटिङको भरमा पैसा खाएर जुन ढङ्गले अगाडि बढेका छन् तिनीहरू कारबाहीको परिधिमा बस्नुपर्छ । घुस लिने र दिने दुबै कारबाहीमा पर्नुपर्छ ।’

Published : Friday, 2026 November 20, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया