मर्चवार क्षेत्रमा जुबैदा खातुनको शंकास्पद मृत्यु, कांग्रेस सांसद खाँद्वारा दोषीलाई कारबाहीको माग

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य (सांसद) वसीउद्दीन खाँले रुपन्देही जिल्लामा जुबैदा खातुनको शंकास्पद मृत्युको घटनाको छानविन गरि दोषीलाई तत्काल पक्राउ गरेर कारबाहीको माग गरेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत् प्रधानमन्त्री तथा गृह मन्त्रालयलाई ध्यानाकर्षणपत्र पठाउँदै सांसद खाँले जुबैदा खातुनका दोषीलाई यथाशीघ्र पक्राउ गरेर कानूनी कारबाहीको माग गरेका हुन् ।

रुपन्देहीको मर्चवार क्षेत्र कोटहीमाई–७ मा भएको घाटनाका दोषीहरूलाई कडा कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई ध्यानाकर्षण गराइएको पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता खाँले बताएका छन् ।

कोटहीमाई गाउँपालिका वडा नं. ७ मा महिलाको शंकास्पद मृत्यु घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कडा कारबाहीका लागि माग गरिएको उनले बताए ।

रूपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका वडा नं. ७ मा पर्ने वडा नं. ४ र वडा नं. ७ को बीचमा रहेको कटफोरवा नालाको छेउमा धान खेतमा कात्तिक १२ गते बिहीबारका दिन एक महिलाको शव फेला परेको थियो ।

मृतक महिला जुबैदा खातुन कोटहीमाई गाउँपालिका वडा नं. ५, सानो मझगावाकी बासिन्दा हुन् ।

‘दुःखद् तथा संवेदनशील घटनाले सम्पूर्ण स्थानीयवासीलाई स्तब्ध, दुःखी र चिन्तित बनाएको छ,’ पूर्वमन्त्री खाँले भने, ‘घटनाको वास्तविक सत्यतथ्य सार्वजनिक हुनु, मृतकले न्याय पाउनु तथा यस्ता घटनाको पुनरावृत्ति हुन नदिनु राज्यका सम्बन्धित निकायको प्रमुख दायित्व हो ।’

‘घटनाको गम्भीर्यतालाई मध्यनजर गर्दै यस घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय दिलाउन नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ कांग्रेस नेता खाँले भने, ‘सम्बन्धित निकायले गम्भीरतापूर्वक पहल गरी शीघ्र न्याय सुनिश्चित गर्नेछन् भन्ने विश्वास लिएका छौं ।’

ज्ञापनपत्र बुझाउन कांग्रेस नेता एवम् पूर्वमन्त्री खाँसहित कोटहीमाई गाउपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोदकुमार श्रीवास्तव, मर्चवारीमाई गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरई, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी सीडीओ कार्यालय पुगेका थिए ।

Published : Monday, 2026 November 2, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया