धरानमा ठूलो परिमाणको गाँजासहित पाँच जना पक्राउ, प्रहरीद्वारा हवाई फायर

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच जनालाई ठूलो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ ।

धरान उपमहानगरपालिका वडा नं. २० च्यानडाँडाबाट करीब २ सय ९ किलो ४ सय २० ग्राम गाँजासहित ५ जनालाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ बस्ने ४५ वर्षीय राजेन्द्रप्रसाद मंडल, छिन्नमस्ता गाउँपालिका–६ बस्ने ५९ वर्षीय राजकुमार साह, भारतको बिहार प्रान्त मधुबन्नी बस्ने ३८ वर्षीय सन्तोष ठाकुर र सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय अमृत बिशुङ्खे रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

धरानका स्थानमा दुईवटा स्कारपियो गाडीमा गाँजा लोड भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरको स्कारपियो तलासी गर्दा गाँजा फेला पारेको थियो ।

Published : Monday, 2026 November 2, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया