गृह मन्त्रालयद्वारा एआईजी दाहाल निलम्बित, जाँचबुझको प्रतिवेदनपछि थप एक्सन लिने
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावटसम्बन्धी आरोपमा निलम्बन गरेको छ ।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले पदीय आचरणविपरीत कार्य गरेको भन्ने सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि त्यस विषयमा छानबिन अघि बढाइएको हो ।
गृह मन्त्रालयले सोमबारको निर्णयअनुसार एआईजी दाहाललाई निलम्बन गरी उनीमाथि लागेको आरोप तथा पदीय आचरणसम्बन्धी विषयमा जाँचबुझ गर्न जाँचबुझ अधिकृत तोकेको जनाएको छ ।
जाँचबुझ अधिकृतले तीन दिनभित्र छानबिन सम्पन्न गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको र पदीय आचरणविपरीत कार्य गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको थियो ।
गृह मन्त्रालयले शान्ति, सुरक्षा तथा राज्यका संवेदनशील सूचनाको संरक्षणलाई प्राथमिकतामा राख्दै गृह मन्त्रालय मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको पनि जनाएको छ ।
प्रेस विज्ञप्तिमा कानूनविपरीत हुने हरेक गतिविधि वा घटनामा प्रचलित कानूनबमोजिम कारबाही गरिने उल्लेख गर्दै गृह मन्त्रालयले विधिको शासन, कानूनको पालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको प्रेस विज्ञप्तिमा जनाएको छ ।
दाहालमाथि लागेको आरोपको अन्तिम टुंगो भने जाँचबुझबाट प्राप्त हुने प्रतिवेदन तथा त्यसका आधारमा हुने थप कानूनी प्रक्रियाबाट लाग्नेछ ।

बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया