अख्तियारद्वारा रंगेहात पक्राउ परेका विद्युत् प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र इटहरीमा कार्यरत इन्जिनियर कृष्णनारायण यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।
सोमबार अख्तियारले इन्जिनियर यादवविरुद्ध विशष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । गार्मेन्ट उद्योगमा २० के.भी. क्षमताको विद्युत् लाइन जडानमा सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग ५० हजार रुपियाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित वितरण केन्द्रमा कार्यरत इन्जिनियर यादवले सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडानको काममा बदनियतपूर्वक ढिलासुस्ती गरी अनावश्यक दुःख–हैरानी दिँदै घुस मागेका थिए ।
सेवाग्राहीको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा यादवले घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध ५० हजार रुपियाँ बिगो कायम गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगोबमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय मागदाबी गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया