गगन दाई १८ करोडको छानविनमा सहयोग गर्नुस्, ५ वर्षको कारबाहीमा हुनुहुन्छ, हावा कुरा नगर्नुस् : युवा नेतृ शाही
काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ कमलासिंह शाहीले २.० कांग्रेसका सभापति गगनकुमार थापालाई १८ करोड अडियो प्रकरणको छनविन प्रक्रियामा सरकारलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।
बुधबार सामाजिक सञ्जालमार्फत कांग्रेस नेतृ शाहीले नेपाली कांग्रेसको आधिकारिकता पाउन १८ करोडमा डिल गरेको अडियो प्रकरणमा छानविनमा सहयोग गर्न गगनलाई सुझाव दिएकी हुन् । उनले गगन थापाको १८ करोडको अडियो प्रकरणबारे छानविन र अनुसन्धान गरेर कारबाही गर्न सरकारसँग अनुरोध गरेकी छिन् ।
बिचौलिया इनम सापकोटाको अडियो सार्वजनिक भएपछि गगन थापाले नेपाली कांग्रेसको आधिकारिकता पाउन सर्वोच्च अदालतका न्यायाधीशहरूसँग डिल गरेको कुरा बाहिर आएको छ । साथै निर्वाचन आयोगका तत्कालीन कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले पनि गगन थापालाई कांग्रेसको आधिकारिता दिन डिल गरेको आरोप छ ।
कांग्रेसकी युवा नेतृ शाहीले भनेकी छिन्, ‘पहिला तपाईंको १८ करोडको अडियो आएको छ, छानबिनलाई सघाउनुहोस् । तपाईंले गल्ती गरेकै हो । जो चोर उसको ठूलो स्वर भने झै तपाईं आफै आत्तिनु भएको छ ।’
‘यो १८ करोडको अडियो प्रकरणको छानविन छिटो होस् । प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसको आधिकारिकता पाउन १८ करोडको डिल भएको अडियो प्रकरणको छानबिन छिटो गर्नुहोस् ।’
‘तपाईंको तथाकथित विशेष महाधिवेशन, त्यो अबैधानिक नै हो । एउटा महामन्त्रीले विशेष महाधिवेशन बोलाउन मिल्दैन सिङ्गो कार्यसमितिको बहुमतले निर्णय गरेर विशेष महाधिवेशन बोलाउने हो,’ कांग्रेस नेतृ शाहीले भनेकी छिन् ।
‘१४औं महाधिवेशनबाट निर्वाचित आदरणीय सभापति शेरबहादुर देउवाज्यूलाई हटाउने तपाईंलाई अधिकार कसले दियो ? हटाउन के चाइन्छ तपाईंलाई थाहा छ कि छैन ?’
‘तपाईं पहिला आफ्नो पदको टुंगो लगाउनुहोस् । आफ्नै पदको टुंगो छैन अरुलाई कारवाही गर्छु गरे ?,’ उनले प्रश्न गरेकी छिन्, ‘तपाईंहरू ३ जना तत्कालीन महामन्त्री र सहमहामन्त्री लाई पार्टीले पहिले नै ५ बर्षको लागि कारवाही गरीसकेको छ ।’
नेतृ शाहीले भनिन्, ‘अदालतको मानहानी तपाईंले गर्दै आउनुभएको छ हेक्का राख्नुहोस् कानून र बिधि बिधानभन्दा ठूलो कोही हुँदैन ।’
‘अदालतले निस्सा दिएको तपाईंलाई सबै कुरा थाहा हुँदा पनि अदालतलाई मानहानी गर्नुभएको छ,’ चेतावनीशैलीमा उनले भनिन्, ‘नेपाली कांग्रेसले १४औं नियमित महाधिवेशनबाट निर्वाचित आदरणीय सभापति शेरबहादुर देउवाज्यूलाई चिन्छ ।’
‘अहिले १५औं नियमित महाधिवेशनलाई १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाज्यूको नेतृत्वको कार्यसमितिले नियमित महाधिवेशन गर्नमिल्छ । तपाईंको त्यो अबैधानिक विशेषको भेलाबाट आएको भिड र हुलले गर्न मिल्दैन हेक्का रहोस्,’ कांग्रेस नेतृ शाहीले भनेकी छिन् ।
‘आदरणीय गगन दाई तपाईंले जति अपमान शब्द आदरणीय सभापति शेरबहादुर देउवाज्यूलाई बोल्नुहुन्छ नि ! त्यति नै तपाईंलाई अपमान शब्द बोल्ने र अपमान गर्ने कार्यकर्ता जागिसकेका छन् हेक्का रहोस्,’ नेतृ शाहीले भनिन् ।
‘जस्तो बीउ रोपिन्छ नि ! त्यस्तै फल लाग्छ यो पनि याद गर्नुहोस्,’ नेतृ शाहीले भनिन्, ‘आफूभन्दा अग्रज नेतालाई तपाईंले आज के बोल्नुभएको छ ? एकपटक आफूतिर फर्केर ऐना हेर्नुहोस् त ।’
‘तपाईंलाई कांग्रेसले आजसम्म यहि संस्कार सिकाएको हो ? तपाईं गुन्डागर्दी गरेर भिड हुल जम्मा गरेर कांग्रेसमा स्थापित हुन खोजेको हो ? तपाईंको आजको आक्रोश र अराजक भाषणले तपाईंको व्यबहारलाई प्रष्ट झल्काएको छ तपाईं अराजक भाषण गरेर कांग्रेसमा स्थापित भएको हो भनेर,’ उनले भनिन् ।
‘अहिले अदालतमा छ रुख र झण्डा तपाईलाई थाहा छ कि छैन ? तपाईंले कांग्रेसको रुख र झण्डा १८ करोडमा किनेको अडियो प्रमाण आउँदासम्म तपाईंको ध्यान कता गएको छ ? कांग्रेसले बिधिको शासनको पालना गर्छ । कानूनलाई सघाउनुहोस्,’ नेतृ शाहीले भनिन् ।
‘कार्वाही गर्छु भनेर कुन बिधानमा टेकेर भन्नुभयो ? गगन दाई तपाईंसंग रुख छ र कारवाही गर्नलाई रुख कहाँ छ थाहा छ कि छैन तपाईंलाई ? थाहा नभए निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएर बुझ्नुहोस् । तपाईंले कारवाही गर्न पाउने अधिकार छैन । किन कि रुख अदालतमा छ तपाईंले रुखलाई दुरुपयोग गर्नुभएको छ,’ नेतृ शाहीले भनिन् ।
‘तपाईंको बिर्ता कांग्रेस पार्टी होइन । है हेक्का रहोस् । वीपी कोइरालाको सिद्धान्तबाट प्रभावित भएर लाखौं नेता कार्यकर्ता जनताको बलिदानबाट बनेको कांग्रेस पार्टी हो,’ उनले भनिन् ।
‘तपाईंको उमेरभन्दा बढी आदरणीय सभापति शेरबहादुर देउवाज्यूको राजनीतिक बिरासत र इतिहास छ हेक्का रहोस्,’ शाहीले भनिन्, ‘लोकतन्त्रका खम्बा राजा राणा पञ्चायत ब्यबस्थाका विरुद्ध नडराएर लडेर जेलनेल भोगेर इतिहास र बिरासत रच्नु भएका आदरणीय सभापति शेरबहादुर देउवाज्यूलाई तपाईंको त्यो अराजक भाषणले गगन दाई हुनेवाला केही छैन यो बुझ्नुहोस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया