देउवा पक्षको भोजपुरमा कांग्रेसको वडा अधिवेशन शुरु, पार्टी एकजुट बनाउन आग्रह

भोजपुर । शेरबहादुर देउवा पक्षका नेताहरूको नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत भोजपुरमा वडा अधिवेशन शुरू भएको छ ।

बिहीबारदेखि भोजपुरमा पनि वडा अधिवेशन शुरु भएको हो । केन्द्रीय निर्वाचन तालिका अनुसार भोजपुरका नौ वटै स्थानीय तह का ८१ वडाहरूमा वडा अधिवेशन शुरू गरिएको नेपाली कांग्रेस भोजपुरका जिल्ला संयोजक धर्मराज राईले जानकारी दिएका छन् । देउवा पक्षका नेताहरूले अधिवेशनको कार्यक्रमलाई अगाडि बढाउन सम्पर्क कार्यालय पनि खोलेका छन् ।

महाधिवेशन तयारीबारे बिहीबार आयोजित पत्रकार भेटघाटमा संयोजक राईले पार्टी फुटाउनेभन्दा पनि जोगाउन र संगठन बलियो बनाउन महाधिवेशनका कार्यक्रम जिल्ला तहमा पनि शुरू गरिएको बताए ।

बिधान अनुसार नियमित महाधिवेशनको मिति तोकिएको अवस्थामा विशेष महाधिवेशनको नाममा पार्टी कब्जा भएकाले त्यसको बिरोध गरिएको संयोजक राईले बताएका छन् । उनले भोजपुरमा पनि जिल्ला महाधिवेशन तयारी समितिको सम्पर्क कार्यालय स्थापना गरि वडा अधिवेशन थालिएको जानकारी दिए ।

तालिका अनुसार आगामी असोज २० गते पालिका अधिवेशनहरू हुनेछन । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन ।

नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति भोजपुरका केन्द्रीय प्रतिनिधि उत्तम चापागाईंले भोजपुर जिल्लामा कांग्रेसको अधिवेशन गरेर पार्टीलाई नयाँ उर्जा दिने बताए । उनले नेपाली कांग्रेसको संगठन निर्माणमा आफूहरू एकजुट भएर जाने बताए ।

Published : Friday, 2026 October 2, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया