देउवा पक्षका नेताहरूद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव, कांग्रेसका हाइज्याकरलाई झट्का

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिले आगामी मंसिरको तेस्रो साता १५औँ महाधिवेशनको साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ ।

बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको समितिको बैठकमा १४औँ महाधिवेशनका सहमहामन्त्री उमाकान्त चौधरीले महाधिवेशनको मिति र विभिन्न तहका अधिवेशनहरूको कार्यतालिकासहितको प्रस्ताव पेस गरेका हुन् । कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ ।

शेरबहादुर देउवा पक्षीय नेताहरूले सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकताको मुद्दा निस्सासहित बिचाराधीन रहेको भन्दै बृहत एकताका लागि दवाव सिर्जना गर्दै आएका छन् । भृकुटीमण्डपबाट नेपाली कांग्रेसको हाइज्याकरहरूले विचाराधीन मुद्दा रहेका बेला महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षका नेताहरू पनि समानान्तर महाधिवेशन गर्न लागेका छन् ।

‘केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समिति गरी चारवटा समिति गठन गनेै गरी सकिनेछ,’ प्रस्तावमा भनिएको छ, ‘भ्रातृ संस्थाहरू महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र आदिवासी जनजाति महासंघको तदर्थ समिति गठन गरी सकिनेछ ।’

प्रस्तावित कार्यपत्रमा वडादेखि केन्द्रसम्मको निर्वाचन तालिका उल्लेख छ । वडा अधिवेशन, असोज १५ गते, पालिका अधिवेशन, असोज २० गते, प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन, असोज २३ गते गर्ने प्रस्तावमा उल्लेख छ ।

जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन, मंसिर ४ गते र केन्द्रीय महाधिवेशन २१, २२ र २३ गते गर्ने कार्यपत्रमा उल्लेख छ ।

नेपाली कांग्रेसको हाइज्याकर समूहले असोज १६ देखि १९ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कथित अध्यावधिका नाममा १५औँ महाधिवेशनका लागि भनेर क्रियाशील सदस्यता नवीकरण गराइसकेकाहरूलाई समेत रोक्न हाइज्याकरहरू लागेका छन् ।

‘क्रियाशील सदस्य सम्बन्धमा वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन तयारी समितिले निम्नअनुसार क्रियाशील सदस्य टुडगो लगाउनेछ,’ प्रस्तावमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यहरू असोज ९ गतेभित्र दिइसकिनेछ ।’

प्रस्तावमा भनिएको छ, ‘१४औँ महाधिवेशनमा भाग लिएका सबै क्रियाशील सदस्यहरुलाई अधिवेशनमा भाग लिन दिइनेछ । १५औँ महाधिवेशनमा भाग लिने गरी १४औँ महाधिवेशनमा निर्णय गरेका सबै क्रियाशील सदस्यलाई अधिवेशनमा भाग लिन दिइनेछ ।’

‘२०८२ पुष १० गतेभित्र नवीकरण गरिसकेका क्रियाशील सदस्यहरू र २०८२ पुष १० गतेभित्र क्रियाशील फारम भरिसकेको नयाँ क्रियाशील सदस्यहरूलाई अधिवेशनमा भाग लिन दिइनेछ,’ प्रस्तावमा भनिएको छ, ‘क्रियाशील सदस्यता सम्बन्धी कुनै विवाद आएमा क्रियाशील सदस्य छानविन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुनेछ ।’

‘अधवेशन, महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ वटा जिल्ला र जिल्ला माफत प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशनमा निर्वाचन अधिकृत र मतदान अधिकृत पठाउनेछ,’ प्रस्तावमा भनिएको छ ।

बैठकमा तत्कालीन सहमहामन्त्री चौधरीद्वारा प्रस्तुत गरिएका विषयहरूमा छलफलको क्रम जारी रहेकाले समितिको बैठक भाद्र १८ गते बिहीबार दिउँसो २ बजे सम्पर्क कार्यालय चुनदेवीमा पुनः बस्नेछ ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बैठक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको संयोजकत्वमा बसेको छ ।

बैठकमा नेपाली कांग्रेसका तत्कालीन सहमहान्त्री उमाकान्त चौधरीले १५औँ केन्द्रीय महाधिवेशन तयारीका सन्दर्भमा र समसमयिक विषयमा प्रस्ताव प्रस्तुत गरेका छन् । प्रस्तावममा नेताहरू डा.प्रकाशशरण महत, पद्मनारायण चौधरी, सीता गुरुङ, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, रंगमती शाही, गुरु बराल, भीम पराजुली, स्दूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायर र आमन्त्रित सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले आ–आफ्नो धारणा राखेका छन् ।

Published : Wednesday, 2026 September 2, 8:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया