एमालेको लुम्बिनी सरकारमा खैलाबैला, जसपाद्वारा पाण्डेयसहित ३ सांसदसँग दोहोर्याएर स्पष्टीकरण माग
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले लुम्बिनी प्रदेश सभाका सदस्य (सांसद) संतोषकुमार पाण्डेयसहित ३ जनासँग पुनः स्पष्टीकरण माग गरेको छ ।
जसपाका महासचिव डा.सुरेन्द्रकुमार झाले प्रदेश सभा सदस्य पाण्डेयका साथै प्रदेश सभा सदस्यद्वय हेमा बेल्वासे केसी र भण्डारीलाल अहिरलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएका हुन् ।
जसपाल केन्द्रीय कार्यालयले लुम्बिनी प्रदेशमा जसपाका प्रदेश सभा सदस्यहरूबाट भएको अनुशासन उल्लंघनको कार्य र पार्टी नेतृत्वको निर्देशन अटेर गरेको विषयमा गम्भीर बनेको छ । यदि चित्त बुझ्ने जवाफ ३ जना सांसदबाट आएन भने सांसद पदबाटै मुक्त गर्ने गरि जसपाले निर्णय गर्ने तयारी गरेको छ । यदि उनीहरूलाई कारबाही भयो भने लुम्बिनी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार धरापमा पर्नेछ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा, लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्ने तथा सरकारको विपक्षमा मतदान गर्ने सम्बन्धमा पार्टीबाट मिति २०८३ भाद्र १ गते प.सं. ०८३/०८४, च.नं. ४ को पत्रमार्फत स्पष्ट निर्देशन जारी
गरिएको थियो । तर, उक्त पार्टी निर्देशनविपरीत तपाईले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्नुभएको देखिएको हुँदा, पार्टी निर्देशनको अवज्ञा गरी पार्टी अनुशासन उल्लङ्वन गर्नुभएको विषयमा ७ (सात) दिनभित्र स्पष्टीकरण पेश गर्न यसअधि नै पत्रमार्फत जानकारी गराइएको थियो ।’
‘उक्त सम्बन्धमा तपाईंबाट प्राप्त स्पष्टीकरणको अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नहरूको चित्तबुइदो र सन्तोषजनक जवाफ प्राप्त नभएको पार्टीको ठहर रहेको छ,’ महासचिव डा.झाको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘अतः तपाईलाई देहायका विषयमा पुनः स्पष्टीकरण पेश गर्न निर्देश गरिन्छ । (१) पार्टीको स्पष्ट निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी पार्टी निर्णयको अवज्ञा गरेको विषयमा तपाईमाथि पार्टी अनुशासनात्मक कारबाही किन नगर्ने ? (२) पार्टीको नीति, निर्णय तथा निर्देशनको प्रतिकूल हुने गरी पार्टी सदस्यले कार्य गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा तपाईको स्पष्ट धारणा के हो ? (३) पार्टी निर्देशनको अवज्ञा गरी गरिएको उक्त कार्यलाई पार्टी विधान तथा प्रचलित निर्णयअनुसार कसरी लिनुपर्ने हो, सो सम्बन्धमा समेत आफ्नो स्पष्ट धारणा पेश गर्नुहोस् ।’
‘उपरोक्त विषयमा २४ (चौबीस) घण्टाभित्र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पुनः स्पष्टीकरण पेश गर्न निर्देश गरिन्छ,’ महासचिव डा.झाले भने, ‘तोकिएको समयभित्र पुनः स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएमा, पार्टी विधान तथा प्रचलित निर्णयबमोजिम आवश्यक अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ ।’
‘पार्टीको नीति, निर्णय तथा निर्देशनको पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको व्यहोरा समेत
स्मरण गराइन्छ,’ महासचिव डा.झाले भनेका छन् ।
लुम्बिनी प्रदेश सभामा जसपा संसदीय दलका नेता समेत रहेका पाण्डेयले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय, नीति र निर्देशन विपरीत एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई समर्थन गरेर मन्त्री बनेका छन् । जसपाले एमाले नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय केन्द्रबाट गर्दै जसपाको लुम्बिनी प्रदेश सभा संसदीय दललाई पनि सोही निर्देशन दिएको थियो ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया