रास्वपाकै सांसदद्वारा प्रहरीमाथि प्रहार भइरहेका बेला महिला प्रहरीमाथि आक्रमण

काठमाडौं । ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई काठमाडौंमा कुटपिट गर्ने २७ वर्षीय राज कठायतविरुद्ध ५ दिन म्याद थप भएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका–२ घर भइ काठमाडौं बस्दै आएका कठायतविरुद्ध ५ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद थप भएको हो ।

कठायतले मंगलबार ड्युटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए । आकाशे पुलबाट बाटो काट्नभन्दा प्रहरीमाथि नै आक्रमण भएको थियो ।

महिला प्रहरीलाई कठायतले कुटपिट गर्न थालेपछि तीन जना प्रहरीले निकै सकसपूर्ण ढंगले नियन्त्रणमा लिएका छन् । उदण्ड कठायतलाई ८–१० जना प्रहरी लागेर मात्रै नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखिएको थियो ।

प्रहरीका अनुसार कठायत काठमाडौंमा कर्णाली क्षेत्रको जडिबुटी कारोबार गर्दै आएका व्यक्ति हुन् ।

घटना दिउँसो अत्यधिक ट्राफिक चाप हुने बेलाको रहेको खुलेको छ । सामुदायिक प्रहरी आकाशे पुल, जेब्रा क्रसजस्ता ठाउँमा खटिएर ट्राफिक नियमका विषयमा जानकारी गराउँदै आएका छन् । दुर्व्यवहार भोगेकी महिला प्रहरी सामुदायिक प्रहरी हुन् ।

प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले भने, ‘सामुदायिक प्रहरीले पैदल यात्रीलाई जथाभावी सडक नकाट्न, नजिक आकाशे पुल भए त्यसको प्रयोग गर्न र जेब्रा क्रसिङमा पनि सवारी र पैदल यात्रीलाई व्यवस्थित ढंगले आवत–जावतको वातावरण मिलाउन सहजीकरण गरिदिन्छन् ।’

जथाभावी सडक काट्न खोजेपछि ड्युटीमा खटिएका महिला प्रहरीले आकाशे पुलको प्रयोग गर्न आग्रह गर्दा कठायतले महिला प्रहरीमाथि आक्रमण गरेका थिए ।

कठायतलाई प्रहरीले पक्राउ गरेर बानेश्वर प्रहरी बृत्तको हिरासतमा राखेर अनुसन्धान थालेको छ । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ६६(१) र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३७ अनुसारको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

दफा ६६ मा ‘राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने’ व्यवस्था छ । जसको उपदफा (१)मा ‘कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैरकानूनी भेला रोक्ने, भंग गर्ने वा हुलदंगा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पु¥याउन वा पु¥याउने उद्योग गर्न हुँदैन’ भन्ने उल्लेख छ ।

यो कसूर गरे दफा ६६ कै उपदफा (२) अनुसार एक वर्ष कैद वा १० वर्ष जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३७ मा निर्धारित ठाउँबाट बाटो काट्नुपर्ने भनर पैदल हिँड्ने मानिसले बाटो काट्न पर्दा जेब्रा क्रसिङ, सब–वे, ओभरहेड ब्रिज वा त्यस्तो बाटो काट्नका लागि निर्धारण गरिएको ठाउँबाट मात्र बाटो काट्नुपर्ने व्यवस्था छ ।

नेपाल प्रहरीमाथि सत्तारुढ दलकै सांसदहरूद्वारा मनोबल गिराउने गरेर अभिव्यक्ति दिने, गतिविधि गर्ने कार्यहरू भइरहेका बेला नयाँ बानेश्वरमा महिला कर्मचारीमाथि आक्रमण भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपाल प्रहरीको मनोवल निकै कमजोर बनेको छ । क्रमशः लयमा फर्किन खोजेको प्रहरीमाथि सत्तारुढ दलका सांसददेखि सडकमा केही अराजक व्यक्तिहरूबाट आक्रमण हुन थालेपछि चिन्ताको विषय बनेको छ ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की लगायत प्रहरी कर्मचारीहरूको कनोबल गिराउने गरेर रास्वपाका सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा जथाभावी अभिव्यक्ति दिएका थिए । साथै उनले विभिन्न खालका चेतावनी पनि दिएका छन् ।

Published : Tuesday, 2026 August 25, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया