रास्वपा सांसद आशिका तामाङ संसदमा फेरि बम्किइन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छिन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन् ।

सांसद तामाङले आफूहरू कुनै चिठ्ठाबाट नभई जनताको अमूल्य मतबाट निर्वाचित भएर संसद्मा आएको बताइन् । एमालेकी सांसद सिद्धिकीविरुद्ध सांसद तामाङ बुधबार बुम्किएपछि सांसदहरूबीच मुख हेराहेर भएको छ ।

तामाङले भनिन्, ‘माननीयज्यूले हामी चिठ्ठामा परेर आएको भन्नुभयो । उहाँले प्रमाण दिनुपर्‍यो । जनताले जिताएर आएको हौँ कि चिठ्ठामा परेर आएको हो, प्रमाणसहित भन्नुप¥यो ।’

तामाङले आफूहरूलाई जनताले निर्वाचित गरेर संसद्मा पठाएको भन्दै सांसद सिद्धिकीको अभिव्यक्तिको शैलीप्रति समेत प्रश्न उठाइन् ।

‘यो शैली हो तपाईंहरूको ? तपाईंहरू जसरी आउनुभएको हो, त्यसरी नै हामीलाई पनि जनताले जिताएर पठाएको हो,’ रास्वपाकी सांसद तामाङले भनिन् ।

सांसद तामाङले एमालेकी सांसद सिद्धिकीले दिएको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनसमेत माग गरिन् ।

सांसद सिद्धिकीले सरकार चिठ्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् । उनले सरकारले सुरुवाती सयमा दिनमा सम्पन्न गर्ने भनी ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने समेत बताएकी थिइन् ।

‘राजनीति भनेको केवल शक्ति र सत्ता प्राप्त गर्नु मात्र होइन, चुनावमा होमिएर केवल जितहार प्राप्त गर्नुमात्र पनि होइन । चुनावको माध्यमबाट सरकार चलाउनु पनि हो । होइन र सरकार ? नागरिकको असल र सुखी जीवन सुनिश्चित गर्नु हो,’ सांसद सिद्धिकीले भनिन्, ‘सार्वजनिक हितमा रहेर कार्य गर्नु यो सरकारको पहिलो दायित्व र पहिलो कर्तव्य पनि हो । सरकारले ल्याएको सय दिनमा गर्ने भनेर ल्याएको एक सय बुँदाको समीक्षा गर्नुहोस् । कति पास भयो ? कति फेल भयो ? जिम्मेवारी सरकारको हो । चिठ्ठामा रमाउने सरकार अब त आँखा खोल । जनातको पीडा बुझ्ने चमेली बन ।’

रास्वपा सांसद तामाङले जे विषयमा पनि नियमापत्ति जनाउन थालेपछि एमालेकी सांसद विष्णुमाया बि.क.ले आक्रोश पोखरेकी छिन् । उनले सदनमा सत्तापक्षका सांसदहरूले विषयवस्तु बुझ्दै नबुझेर नियमापत्ति जनाउने गरेका कारण विपक्षी बेञ्चमा बसेका सांसदहरूले सदनमा जनताको आवाज निर्धक्का साथ बोल्न नसकेको बताएकी छिन् ।

Published : Wednesday, 2026 August 19, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया