पूर्व मिस नेपालको शैक्षिक प्रमाणपत्र नै नक्कली, झुटो विवरणबाट उपाधी लिएको आरोप
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीको शैक्षिक प्रमाण पत्र नक्कली रहेको आरोप लागेपछि तत्कालीन मिस नेपालको उपाधि पनि विवादमा परेको छ ।
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लागेपछि अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह (आइए)को सर्टिफिकेट अझै पनि लिन सकेकी छैनिन् । प्रवीणता प्रमाण पत्र तहको सर्टिफिकेटसमेत नभएकी खड्गीले स्नातक तह पास गरेको भन्ने झुटो बिवरण उल्लेख गरेर सो बेला नै मिस नेपालको उपाधी हासिल गरेको अहिले खुल्न आएको छ ।
उनीसँग हाल रहेको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडियट एजुकेशन यूपीबाट उषाकुमारी खड्गीको नाममा सन् १९९३ जुन २६ मा उषाले हाइस्कुल परीक्षा पास गरेको प्रमाणपत्र भने उनीसँग रहेको छ, त्योभन्दामाथिको कुनै प्रमाणपत्र खड्गीसँग नरहेको उनी निकटहरूले जनाएका छन् ।
न्यूजकारखानालाई प्राप्त कागजात अनुसार खड्गीले गोरखपुरको बी.एस.जे. हाइस्कुल, सरहरी, गोरखपुरबाट हिन्दी, अंग्रेजी, म्याथम्याटिक्स, सोसिएल साईन्स, साईन्स र सिभिक विषय पढेको भन्दै प्रमाणपत्र लिएको देखिए पनि सो प्रमाणपत्रमाथि अहिले प्रश्न उठन थालेको छ । गोरखपुरको विद्यालयबाट हाइस्कुल परीक्षा पास हुँदा अनुक्रमाङ्क १६३६३८१ मा पूर्व मिस नेपाल खड्गीले ३८४५४७ नम्बरको प्रमाणपत्र हरिखेतान बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालयमा बुझाएर भर्ना गरेकी थिइन् ।
सो प्रमाणपत्र पेश गरेर उच्च शिक्षा शुरू गरे पनि खड्गीले पेस गरेर भर्ना भएको प्रमाणपत्र नक्कली रहेको सोही बेला नै खुलेको उनका बाल्यकालका ती साथीले बताए । ‘मिस नेपाल आयोजक हिडन ट्रेजरमा किताबमा उनले बीए पास उल्लेख गरे पनि बीए पास भएको त परै जाओस्, आइए पास भएको पनि सर्टिफिकेट खड्गीसँग छैन्, हरिखेतान बहुमुखी क्याम्पसमा भर्ना भए पनि भारतबाट ल्याएको प्रमाणपत्र सक्कली प्रमाणित गराउन नसकेपछि त्रिभुवन विश्वविद्यालयले अझैसम्म उनलाई सर्टिफिकेट दिएको छैन्,’ उनले भने ।
सन् २००० जुलाई १२, बुधबार मिस नेपाल हुँदा भने उनले आयोजक हिडन ट्रेजरलाई बीए पास गरेको उल्लेख गरेकी थिइन्, जो त्यही बेला दि हिडेन ट्रेजरको अफिसियली पुस्तकमा उल्लेख गरिएको छ । त्यहाँ उल्लेख भए अनुसार मिस नेपालमा प्रतिस्पर्धा गर्दा खड्गीले आफ्नो उमेर २० वर्ष रहेको, ४९ केजी तौलग्राम भएको तथा बीए पास गरेको उल्लेख गरेकी छिन् । जसलाई हिडेन ट्रेजरले सार्वजनिक गरेको पुस्तकमा त्यो बेलाका प्रतिस्पर्धीमध्ये प्रोफाइल नम्बर ११ मा उनको बायोडाटा उल्लेख गरेको छ, जुन वर्ष उनले मिस नेपालको उपाधि हासिल गरेकी थिइन् ।
हरिखेतान बहुमुखी क्याम्पस प्रशासनले पनि उनले कलेज शिक्षा पूरा नगरेको जनाएको छ । यसबारेमा कलेजमा बुझ्दा पनि खड्गीले प्रवीणता प्रमाणपत्रको सर्टिफिकेट लगेको लगबुकमा फेला नपरेको प्रतिक्रिया दिएको छ । ‘उहाँले यहाँबाट कलेज पास गरेको भन्ने कुनै रेकर्ड फेला परेको छैन्,’ क्याम्पस प्रशासनका एक कर्मचारीले भने । तर, उनले भारतबाट हाइस्कुल पास गरेको अभिलेख भने सो क्याम्पसमा रहेको देखिएको छ ।
यसबारेमा जिज्ञास राख्दा स्वयं खड्गीले पनि सही उत्तर दिन सकिनन् । ‘जसले मेरो शैक्षिक प्रमाणपत्रका बारेमा प्रश्न उठाएका छन्, उसैलाई सोध्नु न’ भन्दै संक्षिप्त प्रतिकियामात्रै दिइन् । ‘तपाईको सर्टिफिकेटका बारेमा तपाईलाई थाहा हुन्छ नि, बाहिर अनेक प्रश्न छ, खास कुरा के हो ? भनेर पुनः प्रश्न गर्दा उनले कुनै जवाफ दिन मानिनन् । मात्र यति भनिरहिन, ‘जसले कुरा उठाएका छन, उसैसँग सोध्नु ।’ उनले आफूसँग बीए पास गरेको भन्ने ढुक्कले जवाफ दिन सकिनन् ।
उता, हिडेन ट्रेजरका सञ्चालक प्रमोद कंसाकारले झुटो विवरण बुझाएर मिस नेपाल प्रतियोगितामा भाग लिन नपाइने प्रतिक्रिया दिएका छन् । ‘झुटो विवरण बुझाएर वा उल्लेख गरेर मिस नेपाल प्रतियोगितामा भाग लिन पाइन्न, तपाईले भनेपछि मात्रै उहाँले बीए पास नगरेको थाहा भयो, यदी यसो हो भने बुझ्नु पर्छ ।’ उनले कार्यालयमा सो बेला खड्गीले पेश गरेको डकुमेन्ट हेरेर मात्रै थप प्रतिक्रिया दिने जनाएका छन् ।







बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया