जरा अभियान भनेको जंगली राँगो हो, विशेषले लोकतन्त्र र कांग्रेस सखाप बनायो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस, भक्तपुरका सभापति दुर्लभ थापाले विशेष महाधिवेशनवालाहरूको जरा अभियान भनेको जंगली राँगो रहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गरेको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जंगली राँगोले जस्तै नेताहरूलाई प्रहार हुन थालेको बताए । उनले कृष्णप्रसाद सिटौलालाई प्रहार भएको भन्दै अरु नेताहरूलाई पनि जंगली राँगोले प्रहार गर्ने बताए ।

उनले भने, ‘जरा अभियान भनेको जंगली राँगो हो । जंगली राँगो, जहाँ जसलाई पनि हान्न सक्छ । अहिले भरखर राष्ट्रिय सभा संसदीय दलको नेता परिवर्तन भयो ।’

‘जंगली राँगोले अरु नेताहरूमाथि पनि प्रहार गर्छ । ममाथि प्रहार हुँदा केही छैन,’ प्रतिनिधि सभाका पूर्वसांसद समेत रहेका थापाले भने, ‘म भक्तपुर कांग्रेसको सभापति हुँ । भक्तपुर कांग्रेसका भवन बनाउँदै छु । त्यो भवनलाई हार्दिकताका साथ हस्तान्तरण गर्ने इच्छा ।’

विशेष महाविधेशनवालाहरू र गगनकुमार थापाले नेपाली कांग्रेसको मूल्य र मान्यता, राष्ट्रियता, लोकतन्त्र तथा नेपाली कांग्रेसलाई सखाप पारेको बताए ।

उनले भने, ‘जंगली राँगोले क्रियाशील सदस्यतासहित धेरै कुराहरूमा सखाप पार्दैछ । राष्ट्रियता पनि सखाप पार्दैछ । नेपाली कांग्रेस पनि सखाप पार्दैछ । नेपाली कांग्रेसको मूल्य र मान्यता पनि सखाप पार्दै छन् ।’

सभापति थापाले विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई सिध्याउन सफल भएकोमा गगन थापासहितका नेताहरूलाई बधाई दिएका छन् । उनले विशेष महाविधेशनका कारण रास्वपाले झुण्डै दुईतिहाइ बहुमत ल्याएको तर, कांग्रेसलाई गगन थापाहरूले सखाप परेको बताए ।

‘विशेष महाधिवेशनवालाहरूलाई रास्वपालाई दुईतिहाइ बहुमत ल्याइदिए । विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई सिध्याउन सफल भएको छ । विशेष महाधिवेशनवालाहरू नेपाली कांग्रेस समाप्त पार्न जुन अभियान सञ्चालन गर्नुभयो त्यसका लागि विशेष महाविधेशनवाला साथीहरूलाई बधाई छ,’ सभापति थापाले भने ।

‘नेपाली कांग्रेस समाप्त पार्ने, लोकतन्त्र समाप्त पर्ने, राष्ट्रियता समाप्त पार्नेहरूको जन्म नेपाली कांग्रेसमा भएको छ, उनले भने ।

‘लोकतन्त्रको लागि हाम्रो अभियान सफल हुनेछ भन्ने विश्वास छ । १५औँ महाधिवेशनसम्म जाने विषयमा छलफल गरौँ । कसको नेतृत्वमा जाने त्यो पनि टुंगो लगाऔँ । त्यसलाई कार्यान्वयन गर्न जस्ताको त्यस्तै लाग्ने छौँ । एउटा टिम गठन गरौँ,’ भक्तपुर कांग्रेसका सभापति थापाले भने ।

सभापति थापाले समयमा मान्छे चिन्न नसक्दा नेपाली कांग्रेस र देउवा पक्षीय नेताहरूको यो दुरावस्था भएको बताएका छन् । उनले भने, ‘कृष्णप्रसाद सिटौलाले बनाएका मान्छेहरू कृष्णप्रसाद सिटौलाको विरुद्धमा छन् । प्रकाशमान सिंहले बनाएका मान्छेहरू प्रकाशमान सिंहको विरुद्धमा छन् । शेरबहादुर देउवाले बनाएका मान्छेहरू ती सबै विरुद्धमा छन् । मान्छेको सहि पहिचान गर्न नसकिएकोमा यो दुरावस्था आएको हो ।’

Published : Wednesday, 2026 April 29, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया