रास्वपाबाट समानुपातिकमा परेकी अर्बपति व्यापारी राणाले भनिन् – बालेनको आग्रह स्वीकार गरेकी हुँ, निर्वाचन निर्देशिका बमोजिम हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीको खस, आर्य महिलाको पहिलो नम्बरमा सिफारिस भएकी अर्बपति व्यापारी विदुषी राणाले आफूलाई काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह (बालेन)ले प्रस्ताव गरेको बताएकी छिन् ।
आइतबार सामाजिक सञ्जालमार्फत अर्बपति व्यापारी राणाले बालेनको आग्रह र अनुरोधपछि आफू समानुपातिक सूचीमा बस्न तयार भएको बताएकी छिन् । उनले आफू संविधानले दिएको अधिकारअनुसार नै समानुपातिक सूचीमा उम्मेदवार बनेको बताएकी छिन् ।
‘काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहज्यूले मलाई समानुपातिक सूचीमार्फत उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउन आग्रह गर्नुभयो,’ राणाले भनेकी छिन्, ‘यो आग्रह कुनै राजनीतिक करियरका लागि होइन ।’
‘गहिरो संवाद र बारम्बारको विचार विमर्शपछि मैले यो जिम्मेवारी स्वीकार गरेकी हुँ,’ राणाले भनेकी छिन्, ‘मेरो नाम खस–आर्य समूहअन्तर्गत समानुपातिक सूचीमा समावेश गरिएको छ, जुन प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२, परिच्छेद–४, दफा १३(३)क(३) बमोजिम हो ।’
अर्बपति व्यापारी राणा गोल्डस्टार जुत्ता उद्योगकी मालिक हुन् । आरक्षणको सूचीमा रहेकी उनले नाम फिर्ता नलिने जनाएकी छिन् । अर्बपति व्यापारी राणालाई खस, आर्य महिलाको कोटाको पहिलो नम्बरमा राखेपछि रास्वपाका सभापति रवि लामिछाने, बालेन साह (बालेन्द्र) र कुलमान घिसिङको बिरोध भइरहेको छ ।
विरोध भइरहेका बेला अर्बपति राणाले आफू बालेनद्वारा सिफारिस भएको भन्दै संविधानको धाराहरूको पाठ पढाएकी छिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया