गगन–विश्वले पार्टी विभाजन गर्न खोजेपछि कांग्रेस बचाउन महाधिवेशन प्रतिनिधिहरूले फिर्ता लिए हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाविधेशनको बहाना बनाएर पार्टी विभाजन गर्न लागेपछि ७ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

हस्ताक्षर फिर्ता लिने महाधिवेशन प्रतिनिधिहरूमा कर्णबहादुर चौधरी, दीपा बडायक, रंगबहादुर सुनार, प्रेमबहादुर विष्ट, शिवा थापा, विसुदेवी बडुवाल र रीता भण्डारी रहेका छन् ।

उनीहरूले कांग्रेसको केन्द्रीय कार्यालयमा निवेदन दिएर विशेष महाधिवेशनका लागि आफूहरूको समर्थन नरहेको जनाएका छन् । महामन्त्रीद्वय थापा र शर्माबाट कांग्रेस विभाजन हुनबाट बचाउन हस्ताक्षर फिर्ता लिनेहरूसबै कलाली जिल्लाका हुन् ।

हस्ताक्षर फिर्ता लिएका महाधिवेशन प्रतिनिधिहरूले भनेका छन्, ‘नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा विगतमा महाधिवेशन गर्न हस्ताक्षर गरिएको हो । विशेष महाधिवेशनका लागि नभै सम्पूर्ण प्रक्रिया पूरा गरी नियमित महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्ने सन्दर्भमा रहेकोले हामी तपसिलमा उल्लेखित महासमिति सदस्यहरू र महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर रहेकोले अहिले वर्तमान अवस्थामा पनि नियमित महाधिवेशनको पक्षमा रहेको व्यहोरा जानकारी गराइन्छ ।’

महामन्त्रीद्वय थापा र शर्माले आफ्नो व्यक्तिगत स्वार्थका लागि विशेष महाधिवेशन भनेका छन् । उनीहरूले विशेष महाधिवेशनको नाममा कांग्रेसलाई विभाजन गर्ने गतिविधि गरेपछि सात जना महाधिवेशन प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता लिएर थापा र शर्माको पार्टी विभाजन गर्ने गतिविधिलाई अस्वीकार गरेका छन् ।

यसअघि, महामन्त्रीद्वय थापा र शर्माको पार्टी विभाजनको रणनीति बुझेर उल्लेख्य संख्यामा महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

Published : Friday, 2026 January 2, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया