नयाँ पार्टीको सभापतिज्यू कांग्रेस सर्वनाशको जिम्मेवारी लिनुस्, ठेकेदारहरूको हातमा पार्टी दिनुभयो : अमरेश सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद अमरेशकुमार सिंहले गगन थापालाई नेपाली कांग्रेस र वर्तमान सर्वनासको जिम्मेवारी लिन सुझाव दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेता सिंहले लोकतन्त्रका लागि लडेको पार्टी नेपाली कांग्रेसलाई आजको यो हालतमा पुर्‍याउने जिम्मेवारी पनि लिन सुझाव दिएका छन् । सिंहले भने, ‘नाक फुलाएर लोकतन्त्र ल्याउने पार्टी भनेर गर्व गर्नुभयो । तर, प्रश्न यो हो—त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको हो ? इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ ।’

रास्वपाका नेता सिंहले गगन थापालाई नयाँ पार्टीको सभापतिका रुपमा सम्बोधन गरेका छन् । नेपाली कांग्रेसको मूल सिद्धान्त, गतिविधि र विधिलाई लत्याएर कब्जा गरेर सभापति घोषणा गरेको तर्फ संकेत गर्दै नेता सिंहले गगनलाई नेपाली कांग्रेसको सभापति भन्दा पनि नयाँ पार्टीको सभापतिका रुपमा टिप्पणी गरेका हुन् ।

‘नयाँ पार्टीका सभापति ज्यू, यत्तिकै पार्टी छोडेर गएका होइनन्, तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्,’ नेता सिंहले भने ।

‘लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने—योभन्दा ठूलो विडम्बना अरू के होला ?,’ रास्वपाका नेता सिंहले भनेका छन् ।

भृकुटीमण्डपमा तथाकथित विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका थिए । कांग्रेसका शीर्ष नेतृत्वसहित कार्यकर्ताको ठूलो पंक्ति गगन थापाको हर्कतबाट असन्तुष्ट छ । गगन थापालाई सभापति स्वीकार गर्न सकिरहेको छैन ।

प्रधानमन्त्री बालेन्द्र शाहले समेत गगन थापालाई नेपाली कांग्रेसको सभापति भन्न चाहेका छैनन् । उनले गगन थापातर्फ संकेत गर्दै सामाजिक सञ्जालमार्फत् ‘नयाँ पार्टी’ भनेर टिप्पणी गरिसकेका छन् ।

Published : Monday, 2026 October 5, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया