सभापति देउवाद्वारा १ किलोमिटरभन्दा धेरै उकालो चढेर स्वर्गद्वारी महाप्रभुको दर्शन
स्वर्गद्वारी । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गद्वारी महाप्रभुको दर्शन र पूजा गरेका छन् ।
मंगलबार बिहान सभापति देउवाले प्यूठान जिल्लास्थित स्वर्गद्वारी महाप्रभुको पूजा गरेका हुन् । स्वर्गद्वारी महाप्रभुका पुजारीहरूले विधिअनुसार देउवालाई पूजामा सहभागी गराएको स्वर्गद्वारी आश्रमका उत्तराधिकारी ध्रुवश्रीले जानकारी दिएका छन् ।
ध्रुवश्रीले सभापति देउवालाई स्वर्गद्वारी महाप्रभुको विषयमा जानकारी गराएका छन् । स्वर्गद्वारी महाप्रभुको धार्मिक किंम्वदन्तीदेखि धार्मिक मान्यताहरूका विषयमा ध्रुवश्रीले देउवालाई जानकारी गराएको नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापति देवेन्द्र बर्माले जानकारी दिए ।
स्वर्गद्वारी आश्रमका उत्तराधिकारी ध्रुवश्री र पुजारीहरूसँग सभापति देउवाले स्वर्गद्वारी महाप्रभुका विषयमा निकै चासो राखेर जिज्ञासा राखेका थिए । स्वर्गद्वारी आश्रमका उत्तराधिकारी ध्रुवश्रीले सभापति देउवालाई मन्दिरमा स्वागत गर्दै परिक्रमा गराएका थिए ।
सभापति देउवा गाडी पार्किङस्थलबाट एक किलोमिटरभन्दा धेरै लामो सिंढीको उकालो सहाराबिनै हिँडेर स्वर्गद्वारी महाप्रभुको दर्शनका लागि मूल मन्दिरसम्म पुगेको प्यूठान कांग्रेसका सभापति बर्माले बताए । बर्माले भने, ‘सभापति शेरबहादुर देउवाज्यू र उहाँको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि दुई वटा घोडा बनाएका थियौं । सभापतिज्यूले उकालो आफै हिंडेर जान्छु भन्नुभयो । हिँडेरै मूल मन्दिरसम्म पुग्नुभयो । गाडी पार्किङस्थलबाट मूल मन्दिरसम्म पुग्न सवा किलोमिटर जति छ । सिंढीको बाटो सहाराबिनै हिंडेर जानुभयो ।’
स्वर्गद्वारी महाप्रभुको दर्शन गरेर फर्किने क्रममा भने देउवा र उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई घोडाबाट ओरालिएको प्यूठान कांग्रेसका सभापति बर्माले बताए । उनले भने, ‘सभापतिज्यूले हिंडेरै ओर्लन्छु भन्नुभएको थियो । आजै काठमाडौं फर्किनुपर्ने र भैरहवा विमानस्थलसम्म पुग्न समय लाग्ने भएपछि हामी सबैको आग्रहमा घोडाबाट ओर्लिनुभएको थियो ।’
स्वर्गद्वारी महाप्रभुको दर्शन र पूजा गर्न सभापति देउवासँगै नेपाली कांग्रेस लुम्बिनीका नवनिर्वाचित सभापति रोज राणा र प्यूठान कांग्रेसका सभापति बर्मासहितका स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।
सभापति देउवा नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत लुम्बिनी कांग्रेसको अधिवेशन उद्घाटन गर्न देउखुरीको पाखापानी आएका थिए । अधिवेशनको उद्घाटनपछि देउवा काठमाडौं फर्किने क्रममा मंगलबार बिहानै स्वर्गद्वारा महाप्रभुको दर्शन गर्न गएका हुन् ।





फेसबुकबाट तपाईको प्रतिक्रिया