प्यूठानमा देउवा पक्षद्वारा शक्ति प्रदर्शनसहित कांग्रेसका पालिका सभापतिहरूलाई प्रमाणपत्र प्रदान

बिजुवार । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन तयारी समिति प्यूठान अर्थात् शेरबहादुर देउवा पक्षले प्यूठानमा सबै वडाको अधिवेशन सम्पन्न गरेपछि भव्य कार्यक्रम गरेर नजिता सार्वजनिक गरेको छ ।

आइतबार प्यूठानमा मोटरसाइकल ¥यालीसहितको शक्ति प्रदर्शन गरेर वडा तथा पालिका सभापतिलाई प्रमाण प्रदान गरिएको नेपाली कांग्रेस प्यूठानका संयोजक ईश्वरसिंह विष्टले जानकारी दिए । र्‍यालीमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एमव् नेता रोज राणा, नेता खिमानसिंह रायमाझी, जिल्ला संयोजक विष्ट, उपसभापति एवम् उपमेयर देवेन्द्र बर्मा, झिम्रुक गाउँपालिकाका उपप्रमुख एवम् सहसचिव प्रमोद पोखरेल, नेताहरू देवीराम पुन मगर, खगेश्वर मगर, नेपाल तरुण दलका जिल्ला अध्यक्ष कृष्णप्रसाद बस्याल, अर्जुन गिरी, रोहन महतरा लगायतका सयौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कांग्रेसको नियमित महाधिवेशनबाट निर्वाचित पालिका सभापतिहरूलाई प्यूठानको बिजुवारमा आयोजित कार्यक्रममा बधाई तथा प्रमाणपत्र प्रदान गरिएको उपसभापति एवम् प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताए । बर्माका अनुसार पालिका र वडा सभापतिहरू अधिकांश युवाहरू रहेका छन् ।

अधिवेशनबाट गौमुखी गाउँपालिकाको सभापतिमा निराजन मल्ल, झिमरुक गाउँपालिकामा हरि सुनार, स्वर्गद्वारी नगरपालिकामा प्रमाेद राेका र नौबहिनी गाउँपालिकामा बसन्त भण्डारी चयन भएका छन् ।

प्यूठान नगरपालिकामा प्रकाश राना, मल्लरानी गाउँपालिकामा नवीनप्रकाश श्रेष्ठ, ऐरावती गाउँपालिकामा यशन शाही, सरुमारानी गाउँपालिकामा पुष्पराज न्यौपाने र माण्डवी गाउँपालिकामा सुरवीर मल्ल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

नवनिर्वाचित सभापतिहरूलाई लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् नेता रोज राणाले बधाई तथा शुभकामना दिएका छन् । उनले कांग्रेसको नियमित महाधिवेशनले प्यूठानमा एकताको सन्देश दिएको बताएका छन् ।

नेता राणाले कांग्रेसलाई अझ सशक्त र वास्तविक कांग्रेसका रूपमा अघि बढाउनुपर्ने बताए । अहिले अर्को समूहमा रहेका नेताहरू पनि विस्तारै कांग्रेसको पुरानै घरमा फर्किने नेता राणाले बताएका छन् ।

Published : Sunday, 2026 October 4, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया