गण्डकी कांग्रेसको प्रदेश अधिवेशन भव्य रूपमा उद्घाटन, नेताहरुले के के भने ?
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको तेस्रो अधिवेशन भव्य समारोहका बीच उद्घाटन भएको छ ।
शनिबार पोखरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा अधिवेशन उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा पार्टीका शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थिति, पार्टीभित्रको विवाद, विशेष महाधिवेशनको वैधानिकता, लोकतन्त्रको रक्षा, पार्टी एकता र आगामी राजनीतिक दिशाबारे धारणा राखेका छन् ।
कांग्रेसका सभापति देउवाले पछिल्लो हिंसात्मक घटनामा आफूलाई जेनजी युवाहरूले बचाएको नभई जेनजीभन्दा बढी उमेरका व्यक्तिहरूबाट आक्रमण भएको बताएका छन् । नेपाली सेनाले आफ्नो उद्धार गरेको बताउँदै देउवाले आफूलाई मार्नुपर्छ भन्ने र घर जलाउनु पर्छ भन्नेले टिकट पाएको बताए । विशेष महाधिवेशन गर्न पाइने भए पनि त्यसको निश्चित प्रक्रिया र विधानसम्मत विधि रहेको बताउँदै सभापति देउवाले विशेष महाधिवेशनका सम्बन्धमा आफू सहमत थिएँ वा थिइनँ, आवश्यक हस्ताक्षर सनाखत भएको थियो वा थिएन भन्ने विषय महत्वपूर्ण रहेको बताए ।
‘तपाईंहरूको माया र विश्वासले म बाँचेको छु। पार्टीबाट मैले धेरै कुरा पाइसकेको छु । लोकतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन उत्सर्ग गरेको हुँ । अब बाँकी जीवन पनि देश र पार्टीका लागि समर्पित हुनेछु,’ देउवाले भने ।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले गण्डकी प्रदेशको अधिवेशन नेपाली कांग्रेसको ऐतिहासिक यात्राको निरन्तरता भएको बताए ।
अहिले पार्टी कठिन परिस्थितिमा रहे पनि कांग्रेसले विगतमा वर्तमानभन्दा अझ कठिन परिस्थितिको सामना गर्दै अघि बढेको स्मरण गराउँदै उनले पार्टीले हरेक चुनौतीलाई चिरेर लोकतन्त्रको रक्षा गर्दै आएको बताए ।
नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिको निर्णयबिना गरिएको विशेष महाधिवेशन अवैधानिक रहेको धारणा राखे । निर्णय गर्ने अधिकार न्यायाधीशलाई हुनुपर्ने अवस्थामा रजिस्ट्रारबाट निर्णय भएजस्तो देखिएको टिप्पणी गर्दै उनले सर्वोच्च अदालतबाट प्राप्त निस्साले न्याय निरूपण हुने विश्वास व्यक्त गरे ।
संवैधानिक निकायहरूलाई प्रभावित पार्ने प्रयास भइरहेको उल्लेख गर्दै सिटौलाले संवैधानिक निकायहरू कुनै ठूलो ‘ग्रान्ड डिजाइन’को प्रभावमा परेको आशंका व्यक्त गरे ।
नेता प्रकाशमान सिंहले गण्डकी प्रदेश अधिवेशनको सफलताको शुभकामना दिँदै नेतृत्व चयन सर्वसम्मत हुने विश्वास व्यक्त गरे । केही व्यक्तिले बलजफ्ती अघि बढाएको कथित विशेष महाधिवेशन विधानसम्मत नरहेको बताउँदै पार्टीलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुपर्ने धारणा राखे ।
नेता विमलेन्द्र निधिले संविधानलाई दीर्घजीवी र समयानुकूल बनाउन आवश्यक संशोधन गर्नुपर्ने बताए। समावेशिताको आधारमा नेपाली कांग्रेसलाई सबै समुदाय, वर्ग र क्षेत्रका नागरिकको साझा पार्टीका रूपमा अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्ने धारणा उनले राखे ।
सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेस बलियो हुँदा देशमा परिवर्तन र राजनीतिक उपलब्धिहरू हासिल भएको इतिहास रहेको बताए । कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धिहरू गुम्ने जोखिम रहेको उल्लेख गर्दै चौधरीले पार्टीलाई कमजोर बनाउने गतिविधि र हस्ताक्षर अभियानमार्फत पार्टी कब्जा गर्ने प्रयास भएको आरोप लगाए ।
पुराना अनुहारले मात्रै मत प्राप्त गर्न नसक्ने भन्दै चुनावमा आफ्नो नेतृत्व र अनुहार प्रस्तुत गरेर लज्जास्पद हार व्यहोर्नुपरेको अवस्थामा त्यसको जग विशेष महाधिवेशनको विवाद रहेको चौधरीले बताए ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गत वर्ष भदौ २४ गतेको घटना र कांग्रेसमा भएको विशेष महाधिवेशन अस्वाभाविक घटनाक्रम भएको बताए । कांग्रेसलाई कमजोर बनाउने प्रयासले राष्ट्रियता र लोकतन्त्रलाई समेत कमजोर बनाउने भन्दै उनले निर्वाचन आयोगलगायत सम्बन्धित निकायलाई कमजोर पार्ने प्रयास भएको धारणा राखे ।
डा.महतले वर्तमान घटनाक्रमलाई अस्वाभाविक र दुःखद् भन्दै नेपाली कांग्रेसको मूलधार शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस नै भएको दाबी गरे । कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल सिद्धान्तलाई निरन्तर आत्मसात् गर्दै आएको डा.महतले बताए ।
केन्द्रीय सदस्य एनपी साउदले विध्वंसको आडमा सत्ता बालेनहरूले खोसेको र पार्टी गगनहरूले खोसेको टिप्पणी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमप्रति आलोचना गरेका छन् ।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवालाई ज्यान मार्ने प्रयास भएको आरोप लगाए । कसैको उक्साहटमा विशेष महाधिवेशन गरेर पार्टी विभाजन गराउने प्रयास भएको नेता बस्नेतले बताए ।
नेता बस्नेतले चर्चामा रहेको १८ करोडसम्बन्धी प्रकरणलाई पनि उल्लेख गर्दै यस घटनाको वास्तविकता क्रमशः सार्वजनिक हुँदै जाने बताए ।
केन्द्रीय सदस्य गुरु बरालले राष्ट्रिय चुनौतीहरूको सामना गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरू इमानदार र जिम्मेवार हुनुपर्ने बताए । कांग्रेसलाई सुदृढ बनाउनु देशको लोकतान्त्रिक भविष्यका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै बरालले कांग्रेस ठीक भए लोकतन्त्र र देशको अवस्था पनि ठीक दिशामा अघि बढ्ने धारणा राखे ।
केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबाट कांग्रेसको आधिकारिकताबारे भइरहेको टिप्पणी र चर्चालाई खण्डन गर्दै कांग्रेसले विधि, विधान, संविधान, कानुन तथा स्थापित कानूनी नजिरका आधारमा आधिकारिकता प्राप्त गर्ने बताए ।
कसैको निगाहबाट नभई कानुनी प्रक्रिया र पार्टी विधानका आधारमा आफ्नो पक्षले आधिकारिकता प्राप्त गर्ने विश्वास नेता काफ्लेले व्यक्त गरेका छन् ।
अधिवेशन उद्घाटन समारोहमा नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, केन्द्रीय सदस्य जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, पुष्प पराजुली, सीता देवकोटा, रणबहादुर रावल, भूपेन्द्र राई, कोशी प्रदेश महामन्त्रीलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया