अनि मलाई जसले मार्नुपर्छ भन्ने मान्छे चार जनालाई टिकट दिइयो, त्यसमा स्पष्ट भइसक्यो : देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई पनि टिकट दिइएको बताएका छन् ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार पोखरामा गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘यस्ता मान्छे रहेछन् कांग्रेस भनेर देशभर पालिएका । त्यसमा केही चिन्ता गर्ने साथीहरू पनि छन ।’
देउवाले भने, ‘अब शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई टिकट दिइयो । अनि मलाई जसले मार्नुपर्छ भन्ने मान्छे चार जनालाई टिकट दिइयो निर्वाचनमा । त्यसमा स्पष्ट भइसक्यो ।’ मार्नुपर्छ भन्नेहरूलाई टिकट दिएको बताए पनि देउवाले कसैको नाम लिएनन् । यद्यपि देउवाको संकेत गगन थापासहितका व्यक्तिहरूप्रति लक्षित रहेको चर्चा छ ।
उनले आफूलाई मार्न खोज्नेका पछाडिको षडयन्त्र थाहा भइसकेको पनि बताए । ‘देशभरिमा हाम्रो नेताजीहरूको घरमा आगो लगाउने, हामीलाई मार्न खोज्ने पछाडि को छ भन्ने कुरा स्पष्ट भइसक्यो,’ देउवाले भने ।
उनले विशेष अधिवेशन गर्न पाइने बताए । विगतमा सुवर्णशम्शेर जबरा पार्टी सभापति हुँदा उनले विशेष अधिवेशन गराएको बताए ।
तर, अहिले भएको विशेष महाधिवेशन पार्टीलाई षडयन्त्रपूर्वक कब्जा गर्ने कुरा मात्रै रहेको उनले बताए । ‘र, त्यसको खिलापमा लड्नुपर्ने मेरो कर्तव्य थियो,’ उनले भने ।
आफूमाथि आक्रमण भइसकेपछि सिंगापुर र हङकङ गएर उपचार गरेको र अहिले आफू पूर्ण रूपमा स्वस्थ रहेको पनि सभापति देउवाले बताएका छन् ।
‘त्यहाँ मेरो उपचार भएर म पूर्ण स्वस्थ भएको छु । यसमा सबै साथीभाइको सद्भावमा, नेपाली जनताको कृपामा म बाँचेको छु,’ देउवाले भने । अब आफूलाई केही नचाहिएको बताउँदै उनले आफूले देशलाई दिनुबाहेक केही नरहेको बताए ।
‘यो लोकतन्त्रलाई अझ मजबुत बनाउनु छ । यो गणतन्त्रलाई अझ मजबुत बनाउनु छ,’ उनले भने, ‘मेरो कर्तव्य छ, मलाई सबैथोक दिएको पार्टी, २०–२१ वर्षदेखि जेल परेको व्यक्ति हुँ । मेरो बुबाले सेनामा जा भन्नुहुन्थ्यो । तर हुँदाहुँदा जेल परेँ, प्रधानमन्त्री भएँ । मैले धेरै पाइसकेँ । मैले जिन्दगीभर यो राष्ट्रको लागि, लोकतन्त्रका लागि समर्पण गर्नुबाहेक केही पनि छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया