बदलिएको २.० कांग्रेसको नयाँ कर्तुत्, २८१ को जम्बो केन्द्रीय समिति, सहमहामन्त्री नै १४ जना

काठमाडौं । तथाकथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेका गगनकुमार थापाले आफ्ना नेताहरूलाई व्यवस्थान गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएका छन् ।

सोमबार काठमाडौंको खुला मञ्चमा बसेको केन्द्रीय समितिको बैठकबाट गगनले बदलिएको २.० कांग्रेसको केन्द्रीय समितिको आकार बढाएका हुन् ।

नेपाली कांग्रेसको २०७८ मा भएको १४औं महाधिवेशनमा १६८ सदस्यीय केन्द्रीय समिति रहेको थियो । गगनद्वारा कांग्रेस हाइज्याक गरेर गत पुसमा तथाकथित विशेष महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति बनाएका थिए । गगनले फेरि केन्द्रीय समितिको आकार बढाएका छन् ।

केन्द्रीय समिति २८१ सदस्यीय बनाउने समझदारी नेताहरूबीच भएको एक नेताले बताएका छन् ।

विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव छ । सो प्रस्ताव महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदन भई बन्द सत्रमा पेस गर्ने तयारी छ ।

बदलिएको २.० कांग्रेसमा एक सभापति, १ वरिष्ठ उपसभापति, एक महिलासहित ३ उपसभापति रहनेछन् । ३ महामन्त्री, १४ सहमहामन्त्री रहने व्यवस्था प्रस्ताव गरिएको प्रदीप पौडेलले पत्रकारहरूलाई जानकारी गराएका छन् । एक महिलासहित ३ महामन्त्री रहनेछन् ।

सहमहामन्त्री भने ११ जना निर्वाचनबाट र ३ जना मनोनीत रहनेछन् । ३ मनोनीतमध्ये एक जना महिला अनिवार्य गरिएको छ ।

खुलातर्फ केन्द्रीय सदस्य ४५ जना रहनेछन् । खुला महिलातर्फ १७ जना रहनेछन् । हरेक कलस्टरमा पहिलेभन्दा संख्या बढाइएको छ ।

शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई केन्द्रीय समिति सानो र फुर्तिलो बनाएका थिए । तर, बदलिएको कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड)को शैलीमा केन्द्रीय समितिलाई जम्बो बनाएर खैलाबैला मच्चाएका छन् ।

Published : Monday, 2026 October 5, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया