मुख्यमन्त्री बानियाँ निजी खर्चमा हेलिकप्टर चढ्नु भएको हो : निजी सचिवालय

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नै निजी खर्चमा हेलिकप्टर प्रयोग गरेर सिरहा गएको बताएका छन् ।

शुक्रबार मुख्यमन्त्री बानियाँको निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गरेर आफ्नै खर्चमा हेलिकप्टर चढेर सिरहा गएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सजाल र सच्चार माध्यमको दुरुपयोग गर्दै निरन्तर नकारात्मक सन्देश प्रवाह गर्दै व्यक्तिको चरित्र हत्या गर्न उद्धत व्यक्ति र समूहले बिहीबार सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गर्नुभएको कार्यक्रममा सहभागी हुने क्रममा मुख्यमन्त्री ज्यूले निजी खर्चमा हेलिकप्टर प्रयोग गर्नुभएको विषयमा भ्रम फैलाएको पाइएको छ ।’

‘एकैदिन सिन्धुपाल्चोकको मेलम्ची–९ गुफा डाँडामा आयोजित छैटौं जलवायु सम्मेलनमा सहभागी भई सिराहामा पार्टीद्वारा आयोजित कार्यक्रममा मधेस र बागमती प्रदेशका पार्टी सभापतिहरूलाई आमन्त्रण गरिएकोमा बागमती प्रदेशका पार्टी सभापति समेत रहनु भएका उहाँले सडक मार्गबाट जान असम्भव भई बाध्यात्मक परिस्थितिका कारण निजी खर्चमा गरिएको यात्रालाई भ्रमपूर्ण ढङ्गबाट प्रस्तुत गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘वास्तविकता नबुझी बिहीबारको घटनाका बारेमा सामाजिक सज्जाल र सच्चार माध्यमबाट अनावश्यक भ्रम फैलाउन खोजिएकाले यथार्थ प्रस्ट पार्ने दायित्व सम्झी यो विज्ञप्ति जारी गरिएको हो,’ मुख्यमन्त्री बानियाँको सचिवालयले भनेको छ ।

‘बिहीबारको यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्रीज्यू सरकारी कोषको दुरुपयोग हुन नदिनेतर्फ सधै सचेत रहनु भएकोमा सबैलाई विश्वस्त पार्न चाहन्छौं ।’

‘सामाजिक सज्जालमा भ्रमपूर्ण सन्देश फैलाउनु खोज्नु साइबर अपराध भएकाले यस्ता गलत सामग्रीको सम्प्रेषण नगर्नुहुन सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यमहरूलाई पनि सत्य तथ्य जाँच गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने दायित्वबाट विमुख नहुन समेत सादर अनुरोध गर्दछौं ।’

Published : Friday, 2026 January 2, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया