नेता डा.कोइरालाद्वारा महामन्त्रीद्वय गगन–विश्वको गतिविधि अस्वीकार, कमजोरी लुकाउन अरुलाई गाली गर्न पाइँदैन
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महमन्त्रीहरूलाई जिम्मेवारीबाट नभाग्न सचेत गराएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेता डा.कोइरालाले कोही पनि जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले कसैलाई दोष देखाएर महामन्त्रीहरू भाग्न नमिल्ने बताए ।
उनले भने, ‘पहिला त के कुरा बुझ्नु पर्छ भने जसले जिम्मा लिएको छ क्रियाशीलको त्यो क्रियाशील कम्प्लिट भयो ? त्यो बुझ्नुस् पहिला । सोध्नुस् जसले जसले जिम्मा लिनु भएको छ । किन कम्प्लिट भएन ?’
नेता डा.कोइरालाले भने, ‘नवीकरण पनि अझै ९ वटा जिल्लाको आएको छैन भन्ने सुने मैले । क्रियाशीलको पनि आएको छैन धेरैको । नयाँ क्रियाशीलको कसले सिरियल नम्बर नहालेर पठाउन भनेको थियो ? किन भयो ? लेट त्यस कारण भएको हो नि त । त्यो बुझ्नु पर्यो नि त । खाली दोष लगाएर मात्रै हुँदैन कसैलाई । मलाई दोष लगाएर या कसैलाई दोष लगाएर हुँदैन । तर, कमजोरी हामीबाटै भएको छ ।’
‘मबाट पनि भएको छ कमजोरी । कमजोरी लुकाउने होइन । हामीबाट गल्ती भएको छ । कमजोरी भएको छ, त्यसलाई सुधार गर्दै जाने हो,’ नेता डा.कोइरालाले भने ।
विशेष महाधिवेशनका विषयमा दुई महामन्त्रीहरूले बालेको आफूले पनि सुनेको नेता डा.कोइरालाले बताएका छन् । उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नाम नलिएरै आलोचना गरेका छन् ।
‘महामन्त्रीजीहरूले नै बोल्नु भएको छ । विशेष महाधिवेशनबारे । मैले पनि सुनेको छु । त्यसको केही प्रक्रिया होला,’ डा.कोइरालाले भने, ‘कसले गर्ने विशेष महाधिवेशन ? केन्द्रीय समितिले भन्नु पर्यो । कि भन्ने होइन होला कि ? के छ ?’
नेता डा.कोइरालाले भने, ‘नेपाली कांग्रेसको महामन्त्रीहरू आफै विशेष महाधिवेशनको कुरा गर्नु हुन्छ भने त भएन नि त । कुरा एकदम स्पष्ट छ । म पनि चाहन्छु । तर, केन्द्रीय समितिले निर्णय गरोस् विशेष महधिवेशन । किन भने कार्यविधि बनाउनु प¥यो नि विशेष महाधिवेशनको । केन्द्रीय समितिले गरोस् भनेर म त शुरुदेखि नै भन्दै छु नि विशेष महाधिवेशन ।’
‘तर, त्यो खाली विशेष महाधिवेशन गर्ने भनेर कस्तो महाधिवेशन गर्ने ? के गर्ने ? भनेर सोध्नुस् न । कसले गर्ने ? केन्द्रीय समितिले डिसिजन गर्नुपरेन ? कार्यविधि बनाउनु पर्यो के के गर्ने भनेर । त्यो अधिवेशनमा । त्यो हुनु पर्यो नि त,’ नेता डा.कोइरालाले भने ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५औं महाधिवेशनको कार्यक्रमलाई एकतर्फी रुपमा स्थगित गरेका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि हल बुक गर्नेदेखि पार्टी अनुशासनहीनको कार्य गरिरहेका बेला नेता डा.कोइरालाले नियमित महाधिवेशन दुई महामन्त्रीका कारण प्रभावित भएको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया