कुश्माका तत्कालीन प्रमुख र मल्ल कन्स्ट्रक्सनसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार आयोगले विशेष अदालतमा कुश्मा नगरपालिका–७, खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी राज्यलाई हानि नोक्सानी पुर्याएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य र निर्माण व्यवसायी लालबहादुर मल्लविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारको विशेष अनुदान अन्तर्गत विनियोजित बजेटबाट ज्येष्ठ नागरिक भवन निर्माणका लागि मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग सम्झौता भएको थियो ।
निर्माण व्यवसायीले सम्झौता अनुसार काम नगरी अलपत्र पारेपछि ठेक्का तोडिएको थियो ।
ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने पेस्की रकम र त्यसको ब्याज असुल उपर नगरी, बैंक जमानतको म्याद समेत गुज्रिन दिई कर्मचारी र ठेकेदारको मिलेमतोमा राज्यलाई नोक्सान पु¥याएको अख्तियारको ठहर छ ।
पुरानो ठेक्का तोडेर नयाँ ठेक्का लगाउँदा राज्यलाई थप व्ययभार परेको र पेस्की रकम समेत डुबेको आयोगले जनाएको छ ।
आयोगले दायर गरेको आरोपपत्रमा प्रतिवादीहरूलाई फरक–फरक बिगो कायम गरी सजायको माग गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ र लालबहादुर मल्ललाई जनही रु. १ करोड १३ लाख ४४ हजार २१६ रुपियाँ ८६ पैसा बिगो कायम गरिएको छ ।
तत्कालीन ईञ्जिनियर आशिष शाक्यलाई रु. ९६,४१,८७४.८८ बिगो कायम गरिएको छ । तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मालाई रु. १७,०२,३४१.९८ बिगो कायम गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया