विशेष महाधिवेशनको नाममा गगन–विश्वद्वारा कांग्रेस विभाजन गर्न हल बुक

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको प्रक्रिया अगाडि बढेका बेला नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको गतिविधि तिब्र बनाएका छन् ।

विशेष महाधिवशनको नाममा महामन्त्रीद्वय थापा र शर्माले आफ्ना क्रियाकलापलाई अगाडि बढाएका हुन् । कांग्रेसको विशेष महाधिवेशनको नाममा थापा र शर्माले पुस २७ र २८ गतेका लागि बिहीबार हल बुक गरेका छन् ।

विशेष महाधिवेशन गर्न भन्दै महामन्त्री थापा र शर्माले आफ्ना सहयोगीहरूमार्फत पुस २७ र २८ गतेका निम्ति काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हल बुक गराएका छन् । थापा र शर्माले विशेष महाधिवेशनको नाममा गरिरहेका गतिविधि पार्टी विभाजनको संकेत गरेको नेताहरूले बताएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन आयोजना गर्ने गरी भृकुटीमण्डपको हल बुक गराएका हुन् । स्रोतका अनुसार कांग्रेस विशेष महाधिवेशन आयोजक समितिको नाममा हल बुक गरिएको छ । महाधिवेशन २७ र २८ गते दुई दिन सञ्चालन गर्ने गरी हल भाडामा लिइएको हो । दुई दिनको हल भाडा, हलसँगै प्रयोग गरिने बगैँचा र पार्किङ स्थलको शुल्कसहित करिब ८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

हल बुक गर्दा १ लाख ५७ हजार रुपैयाँ पेस्की तिरिसकिएको आयोजक समितिसँग सम्बन्धित स्रोतले जनाएको छ । बाँकी रकम महाधिवेशन नजिकिँदै गर्दा भुक्तानी गरिनेछ ।

महामन्त्री थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आफ्नो काम अगाडि बढाउन सकेको छैन । थापा आफैले क्रियाशील सदस्यताको विवाद र समस्या समाधान गर्न नसकेर नियमित १५औं महाधिवेशनको कार्यतालिका प्रभावित भइरहेको छ । आफै काम गर्न नसक्ने त्यसपछि विशेष महाधिवेशनको नाममा पार्टी विभाजनको गतिविधि गरेपछि महामन्त्री थापाको गतिविधि र नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ ।

विशेष महाधिवेशन गर्नका लागि पनि विधि र प्रक्रिया हुन्छ । त्यो प्रक्रिया अनुसार जाने हो भने विशेष महाधिवेशन गर्न कम्तीमा ३ महिना लाग्न सक्छ । विशेष महाधिवेशनका लागि भनेर बुझाइएको हस्ताक्षर अधिकांश कीर्ते छन् । ती हस्ताक्षार सनाखत गर्नुपर्छ । महामन्त्री थापा र शर्माले भन्नेवित्तिकै उनीहरूको चाहनाअनुसार कांग्रेसको नेतृत्व कसैले पनि उनीहरूलाई सुनको थालीमा राखेर दिँदैनन् ।

नियमित महाधिवेशनका निम्ति बुधबार पुस १६ गते वडा र बिहीबार पुस १७ गते पालिका अधिवेशन हुनुपर्ने थियो । महामन्त्री थापाले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि कार्यतालिका प्रभावित बनेको छ ।

महामन्त्री थापा र शर्मा निकटका नेताहरूले शुक्रबार पुस १८ विशेष महाधिवेशनका लागि पत्रकार सम्मेलन गर्न लागेका छन् । त्यसपछि शनिबार पुस १९ गते महामन्त्रीद्वय थापा र शर्माले पत्रकार सम्मेलन गर्ने सम्भावना छ ।

Published : Thursday, 2026 January 1, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया