रवि, बालेन र कुलमानतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्रीले भने– नेपाललाई युक्रेन बनाउने योजनाबद्ध प्रयास

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई युक्रेन बनाउने योजनाबद्ध प्रयास भइरहेको बताएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गरेर खनालले समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता निर्माणको आह्वान गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको आरोप लगाएका हुन् ।

विदेशी पैसा र प्रलोभनका आधारमा सबै राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै खनालले नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गराउने प्रयास भइरहेको बताए ।

खनालले भने, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई युक्रेन बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन् ।’

उनले विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै पश्चिमी शक्तिको प्रभुत्वमा रहेको पुरानो विश्व व्यवस्था विघटन हुँदै गएको र न्याय तथा समानतामा आधारित नयाँ विश्व व्यवस्था क्रमशः निर्माण भइरहेको बताए ।

यही विश्व ऐतिहासिक प्रक्रियाको असर नेपालमा पनि परेको भन्दै खनालले देश गहिरो सामाजिक–आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच भएको सम्झौता र गतिविधिप्रति संकेत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाललाई युक्रेन बनाउने ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

Published : Thursday, 2026 January 1, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया