जेनजी आन्दोलनको दमन गलत थियो, दोस्रो दिन जे भयो त्यो पनि गलत छ : डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले भने, ‘विधिको शासन, जनअनुमोदित सरकार र स्वतन्त्र अदालत लोकतान्त्रिक व्यवस्थामा परिकल्पना गरिएको छ । यसलाई हामीले स्वीकार नगर्दा समस्या आइरहन्छ । शान्ति खलबलिन्छ । स्थायीत्वको बाटो अवरुद्ध हुन्छ ।’
उनले भने, ‘०४६ पछि हामीले एउटा व्यवस्था ल्यायौँ । ०६२/०६३ बाट अर्को सरकार बन्यो शान्ति स्थायीत्व हुन सकेन । फेरि भदौमा २३ मा अर्को घटना घट्यो ।’
‘असन्तुष्टिहरूलाई शान्तिपूर्ण तरिकाले प्रकट गर्ने र सरकारले पनि शान्तिपूर्ण तरिकाले सम्बोधन गर्न सकेन भने यस्तो अवस्था आउँछ,’ डा.महतले भने ।
‘सुशासनको लागि आन्दोलन जायज छ तर, सरकारको तर्फबाट भएको दमन गलत छ । दोस्रो दिन जे भयो त्यो पनि गलत छ,’ डा.महतले भने ।
कांग्रेसका प्रवक्ता डा.महतले जेनजी आन्दोलनका कारण देशको दुई आर्थिक वर्षको बजेटजत्तिकै क्षति भएको विवरणहरू आएको बताए ।
‘जेनजी आन्दोलनका कारण जुनखाले असर देशलाई भयो अन्तर्राष्ट्रिय इस्टिमेटअनुसार हाम्रो २ वर्षको बजेटबराबरको खर्च भएको भनिएको छ,’ उनले भने, ‘ठूलो पुँजी पलायन भको छ– नेपालकै पुँजी । यहीँकै पुँजी भयानाक पलायन भएको छ ।’
डा.महतले पुराना दलहरूले पनि कमीकमजोरी गरेको बताए । ‘राजनीतिक दलबाट कमीकमजोरी भएको छ । यसलाई आत्मसात गर्नुपर्छ सुधार गर्नुपर्छ दुई मत नै छैन,’ उनले भने, ‘हामीले प्रोटेस्ट गर्ने तरिकालाई पनि ध्यान दिनुपर्छ । आन्दोलनको विषयमा सरकारी संयन्त्र पनि फेल भयो । जुन आन्दोलन गर्यौँ भन्नेहरू हुनुहुन्छ उहाँहरू पनि अनुशासनमा बस्न सक्नु भएन । अनुशासन नहुँदा यस्तो घटना फेरि दोहोरिन्छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया