विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंस्थित आफ्नै निवासमा केही पत्रकारहरूसँगको भेटमा सभापति देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा त्यसको असर पर्ने सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू बाधक नबन्ने बताएका हुन् ।

सभापति देउवाले आफू भने १५ औं महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताएका छन् । उनले भने, ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु । गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’

१५औं महाधिवेशनमा विधानत आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरुलाई प्रोत्साहन मात्र गर्ने सभापति देउवाले बताएका छन् ।

उनले विशेष महाधिवेशन नहुने बताएका छन् । ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो ? कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ ।’

कांग्रेसको नियमित १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम गर्न सकेको छैन । महामन्त्री थापाको समिति र गतिविधिका कारण कांग्रेसले निर्वाचन केन्द्रित काम गर्न सकिरहेको छैन ।

Published : Tuesday, 2025 December 30, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया