सानेपामा निर्वाचन केन्द्रित छलफल, रवि-बालेनको सहमतिबाट आत्तिन नपर्ने भन्दै कांग्रेसले महत्व दिएन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन केन्द्रित छलफल गरेको छ ।

आइतबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निर्वाचन केन्द्रित छलफल भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । विशेष गरेर समानुपातिक उम्मेदवारका विषयमा छलफल भएको छ ।

प्रवक्ता डा.महतले अहिले समानुपातिक उम्मेदवारको सूची बनाउनेतर्फ केन्द्रित भएको बताए । सातै प्रदेशका नेता, कार्यसम्पादन समितिका सदस्य उम्मेदवारको सूचीका लागि प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरिरहेको डा.महतले बताए ।

उनले भने,‘सातै प्रदेशका नेताहरू, कार्य सम्पादन समितिमा भएका नेताहरूले प्रदेश प्रदेशका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै छन् । सबैबाट क्षेत्रबाट आएका नाम एकतृत र परिमार्जन गरेर सूची बनाउँछौँ । आज समानुपातिक सूचीमा काम गर्दै छौं । भोलि बुझाउँ छौं ।’

डा.महतले अहिले चुनाव महत्वपूर्ण भएको बताए । उनले भने,‘आमनिर्वाचनको कार्यकतालिका आइसकेपछि, भोलिसम्म सूची बुझाउनु भनिसकेपछि, समयसीमा तोकिसकेपछि, अब हामीले समयसीमासँग मतलब छैन, सूची बुझाउने कुरा महत्वपूर्ण होइन भनेर भन्नु त भएन नि । कुनै पनि पार्टीका लागि सबैभन्दा ठूलो काम त आमनिर्वाचत हो ।’

‘प्रतिनिधि सभाको निर्वाचन फागुन २१ मा हुने भनेपछि त्यसमा ११० जना सांसद समानुपातिकबाट निर्वाचित हुन्छन् । अहिले त्यो महत्त्वपूर्ण काम हो,’ उनले भने ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची बनाउन पुस १३ र १४ गते समय तोकेको छ । केही दलले आइतबार सूची बुझाएका छन् बाँकी दल सोमबार बुझाउने गरी तयारीमा जुटिरहेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच भएको सहमतिले पुराना दललाई प्रभाव पार्ने विषयमा सोधिएको प्रश्नमा पनि उनले केही फरक नपर्ने बताए । डा.महतले भने, ‘मैले खासै प्रभाव पार्ने देख्या छैन ।’

रवि र बालेन दागरहित व्यक्ति नभएकाले खासै फरक नपर्ने डा.महतको भनाइ छ । ‘उहाँहरू कुनै एकदमै दागरहित, प्रश्न नउठेका व्यक्तित्व त होइन । सबैको बारेमा धेरै ठूलो प्रश्न उठेको छ नि । नेपाली जनताले त्यसलाई मूल्यांकन गरिराखेका छन्,’ उनले भने ।

उनीहरूसँग राज्य चलाउनका लागि स्पष्ट नीति पनि नभएको डा.महतले बताए । ‘राज्य चलाउनका लागि सुस्पष्ट नीति हुनुपर्छ, दिशा पनि हुनुपर्छ, अनुभव पनि हुनुपर्छ, देशव्यापी संगठन पनि हुनुपर्छ । त्यो भयो भने मात्रै आम नागरिकलाई विश्वास दिलाउन सक्छ,’ रवि–बालेनसँग त्यो नभएको डा.महतले भने, ‘त्यसैले मलाई के लाग्दछ भने पुराना दलहरू नै, त्यसमा पनि नेपाली कांग्रेस नै सबैभन्दा विश्वसनीय पार्टी हो । धेरै ठूलो जनाधार देशैभरी फैलिएको छ ।’

डा.महतले रवि र बालेनका विषयमा उठेका प्रश्न गम्भीर रहेको बताए । ती प्रश्नबाट सफाइ नपाउँदासम्म जनताले नपत्याउने बताउँदै डा.महतले भने, ‘उहाँहरूको जस्तो क्रियाकलाप देखिएको छ, उहाँका खिलाप जस्तो प्रश्न उठेको छ, ती गम्भीर प्रकृतिका छन् । नेपाली कांग्रेसले आत्तिनुपर्ने कुनै कारण छैन ।’

Published : Sunday, 2025 December 28, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया