कांग्रेस नेता राठौरद्वारा रवि–बालेनलाई जेलेन्स्कीसँग तुलना, हरुवाहरू विशेष महाधिवेशन भनेर धेरै चिच्याए
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई तुलना गरेका छन् ।
आइतबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘युक्रेनमा जेलेनस्कीलाई पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाएका कारण युक्रेनले जे कुरा भोगिरहेको छ । नेपालमा पनि यी गैरजिम्मेवार पार्टीहरू, गैरजिम्मेवार नेताहरू, सहकारी ठगहरू, दलालहरू, गजेडीहरूले ।’
उनले भने, ‘हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले त यो देशका जनतालाई अधिकार सम्पन्न बनायौं । विकास ग¥यौं र शान्ति ल्यायौं । हामीले गर्न नसकेको के हो भने भ्रष्टाचार नियन्त्रण गर्न नसकेको हो ।’
‘भ्रष्टाचार नेपालमा मात्रै छैन । अमेरिकामा पनि छ । युरोपमा पनि छ । चाइनामा पनि छ । भारतमा पनि छ । नेपालमा पनि छ । भ्रष्टाचार नियन्त्रण गर्न हामीले नसकेको हो,’ राठौरले भने, ‘यो भ्रष्टाचार नियन्त्रण अहिलेको सरकारले पनि गर्न सक्दैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन । किन भने हाम्रो समाज भ्रष्ट छ ।’
सहमहामन्त्री राठौरले भने, ‘भगवानलाई घुस दिने समाजबाट हामी आएका छौं । जनताले आफूले जे पनि गर्ने । यो त हामीले संसारकै उत्कृष्ट व्यवस्था ल्याएको हो । यो व्यवस्था चलाउने हामी नेता गतिलो भएनौं । कर्मचारी गतिलो भएन । वुद्धिजीवी गतिलो भएन । पत्रकार गतिलो भएन । जनता पनि गतिलो भएन ।’
‘यो व्यवस्थाले आफ्नो वडाको अध्यक्ष कस्तो बनाउने ? पालिका अध्यक्ष कस्तो बनाउने ? प्रदेश सांसद कस्तो बनाउने ? संघीय सांसद कस्तो बनाउने ? राष्ट्रपति कस्तो बनाउने ? प्रधानमन्त्री कस्तो बनाउने ? त्यो सारा अधिकार जनतामा छ । जनताले नबुझेका कारण, जातका आधारमा, धर्मका आधारमा, नाताका आधारमा, मासु खाएर, रक्सी खाएर, पैसा खाएर भोट हालेका कारण यो परिस्थिति निर्माण भएको हो । हामी सबै जिम्मेवार हुन जरुरी छ,’ राठौरले भने ।
कांग्रेस नेता राठौरले भने, ‘सो कल्ड बुद्धिजीवी र पत्रकारहरूले देशलाई गृहयुद्धमा पु¥याउँदै छन् । नेतालाई मात्रै बदनाम गरेनन्, राजनीतिक दलहरूलाई पनि बदनाम गरे । यति लामो संघर्ष गरेर ल्याएको व्यवस्थालाई पनि सिध्याउन लागे ।’
‘फागुन २१ गते निर्वाचन भएन भने देश गृहयुद्धमा जान्छ । यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ,’ सहमहामन्त्री राठौरले भने ।
उनले भने, ‘राजनीतिमा हिरो खोज्ने होइन । राजनीतिमा विचार खोज्ने हो । निष्ठा खोज्ने हो । नैतिकता खोज्ने हो । इमान्दारिता खोज्ने हो । नेता इमान्दार हुनु प¥यो । निष्ठावान हुनुप¥यो । नैतिकवान हुनुप¥यो । नैतिकपतन भएका मान्छेहरूले हामीलाई धेरै फुर्ती गर्न जरुरी छैन ।’
‘नयाँ पार्टीहरू कुरा ठूला गर्छन् । चर्काचर्का कुरा गर्छन् । यी नयाँ पार्टीहरूले १० वर्ष पार्टी चलाएर देखाओस् त्यसपछि कुरा गरौंला भनेको । पाँच वर्ष पार्टी चलाउन नसकेका स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र सीके राउत विद्वानले खोलेको पार्टी चार टुक्रा भइसक्यो । पार्टी चलाउनु प¥यो,’ राठौरले भने ।
‘८० वर्ष लामो संघर्ष गरेर नेपाली कांग्रेसले यो व्यवस्था त्यत्तिकै ल्याएको होइन । सबैले राजनीति गर्न पाउने अवस्थाको सिर्जना गर्नको निम्तिको लागि नै हामीले यति लामो संघर्ष ग¥यौं,’ उनले भने ।
‘वीपी कोइरालाले २००७ सालको क्रान्तिपछि संविधानसभाबाट संविधान बन्नुपर्छ भन्नुभएको थियो । संविधानसभाबाट संविधान बन्न ७० वर्ष लाग्यो । हामीले संघर्ष गरेर ल्याएको यो अवस्थामा नयाँ पार्टीहरू खुल्छन्,’ उनले भने, ‘नयाँ पार्टीहरू एकजुट हुन्छन् त्यसमा हामीलाई कुनै आपत्ति छैन ।’
कांग्रेस नेता राठौरले भने, ‘हाम्रो समस्या के हो भने पार्टीलाई अहिले देश जलेको बेलामा पार्टीको सभापतिमाथि हमला भएको बेला, केन्द्रीय कार्यालयदेखि जिल्ला, क्षेत्रका सम्पूर्ण कार्यालयहरू जलेको बेला कांग्रेस एकढिक्का भएर आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा केन्द्रित हुन जरुरी छ । त्यतातिर हामी सबै लाग्न जरुरी छ ।’
नेता राठौरले भने, ‘यो विशेष महाधिवेशनको ढोङ्ग हिजो १४औं महाधिवेशनमा हारेका हरुवाहरूले धेरै चिच्याएर बोल्नुपर्ने जरुरी छैन । १५औं महाधिवेशन आउँदैछ । १५औं महाधिवेशनमा फेस गरेर देखाए हुन्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया