श्री मनोहर माविका तत्कालीन प्रधानाध्यापक र शिक्षिकाविरुद्ध अभियोग पत्र दायर

काठमाडौं । उमेर हद नाघेकी शिक्षिकालाई गैरकानूनी रूपमा नियुक्ति दिएको आरोपमा काठमाडौंको टोखास्थित श्री मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले विशेष अदालत, काठमाडौंमा विद्यालयका तत्कालीन प्रधानाध्यापक वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

माध्यमिक तहको शिक्षक पदमा नियुक्तिका लागि ४० वर्ष उमेर हद नाघ्न नहुने कानूनी व्यवस्था छ । शिक्षिका कल्पना पनेरुको उमेर ४० वर्ष कटिसकेको अवस्थामा पनि प्रधानाध्यापक अधिकारीसँगको मिलेमतोमा कीर्ते कागजात तयार पारी नियुक्ति लिए/दिएको पाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा टिपेक्स लगाई सच्याएर, केरमेट गरी र थपघट गरेर पुरानो मिति राखी नक्कली निर्णय तयार पारेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।

उनीहरूले बहालवाला शिक्षिकाको हकमा उमेर हद नलाग्ने प्रावधानको दुरुपयोग गर्नका लागि गलत लिखत तयार पारेको अख्तियारले जनाएको छ ।

अख्तियारले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसूरमा कैद र जरिवानाको मागदाबी गरेको छ ।

Published : Sunday, 2025 December 28, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया