देउवा-ओली-दाहाल तथा प्रधानमन्त्रीको बैठक सकारात्मक, सबै राजनीतिक दल चुनावमा जान तयार छौं
काठमाडौं । नेपाली कांग्रेसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले सरकारलाई प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको बैठकमा शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँगको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलको उपस्थिति रहेको थियो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि तयार छ । एमाले पनि तयार छ ।’
‘अरु दल पनि तयार छन् । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ कांग्रेस सभापति देउवाले भने ।
प्रधानमन्त्री कार्की र कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली तथा नेकपाका संयोजक दाहालबीच भएको बैठक सकारात्मक रहेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री खरेलले बताएका छन् ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र नेकपाका संयोजक दाहालले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छिन् । कार्कीले निर्वाचनमा सहभागी भई सफल तुल्याउन आग्रह गरिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया