पराजित हुने भएपछि गगन-विश्व-बद्री चुनाव नलड्दै धम्की, समानुपातिकमा जान शर्मा-पाण्डेको रणानीति

काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री र एक सह–महामन्त्रीले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने भनेर सर्तसहितका धारणा बाहिर ल्याएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सह–महामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभामा उम्मेदवार बन्न नसक्ने बताएका हुन् । उनीहरूले समानुपातिक सांसदको पनि उम्मेदवार नबन्ने भनेर भनेका छैनन् ।

महामन्त्री थापाले कांग्रेसको नेतृत्व परिवर्तन नहुने हो भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नक्ने भनेका छन् । अर्का महामन्त्री शर्माले नयाँलाई अवसर दिन आफू उम्मेदवार नबन्ने भनेका छन् । सहमहामन्त्री पाण्डेले पनि अन्य नेताहरूलाई अवसर दिन उम्मेदवार नबन्ने भनेका छन् ।

महामन्त्रीद्वय थापा र शर्मा तथा सह–महामन्त्री पाण्डेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भनेर दिएका अभिव्यक्तिमा कुनै दम छैन । उनीहरूकोभित्री कथा अर्कै छ । यस पटक यी तीनै जना निर्वाचनमा असुरक्षित छन् । आफ्नै कारणले उनीहरू पराजित हुने सम्भावना छ ।

महामन्त्री थापाले भदौ २३ र २४ गतेको घटनापछि सभापति शेरबहादुर देउवाविरुद्ध निरन्तर प्रहार गरिरहेका छन् । थापाले आंशिक रुपमा खुलेर मैदानमा उत्रिएका छन् । सांघातिक आक्रमणपछि भौतिक र शारीरिक अवस्थामा कमजोर भएका सभापति देउवालाई कांग्रेसबाट हटाएर सभापति बन्ने दाउँमा महामन्त्री थापा लागेका छन् । सभापति देउवालाई जति धेरै गाली र आलोचना ग¥यो त्यत्ति नेता बन्ने चक्करमा थापा छन् । आफू निकटका नेताहरूसँग थापाले सभापति देउवाको आलोचना गरेर आफू नेता बन्ने योजनामा रहेको बताउने गरेका छन् ।

महामन्त्री थापाले जति नै धम्की दिए पनि प्रधानमन्त्रीको उम्मेदवार बन्ने हो भने प्रत्यक्षमा उम्मेदवार बनेर जित हासिल गर्नै पर्छ । समानुपातिकमा बसेर प्रधानमन्त्री बन्न पाइँदैन । अध्याँरो कोठामा बसेर गोली हान्ने खेलाडी हुन् थापा । ४ ठाउँबाट आफ्नो नाम सिफारिस गर्न लगाएका छन् । जहाँबाट जित्न सकिन्छ त्यहीँ उम्मेदवार बन्ने पक्षमा छन्, थापा ।

कथंकदाचित थापाले निर्वाचनमा प्रतिस्पर्धा गरेनन् भने उनैलाई हुनेछ क्षति । कांग्रेस महासागर हो । महामन्त्री थापा जस्ता अरु पनि नेता कांग्रेसको नेतृत्वमा आउन लाइनमा छन् । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता धेरै नेताहरूले कांग्रेस छाड्दा समेत असर नपरेको कांग्रेसलाई महामन्त्रीद्वय थापा र शर्मा तथा सह–महामन्त्री पाण्डेले निर्वाचन लड्दैन भनेकै भरमा कुनै असर पर्दैन । कांग्रेसलाई धम्की नदिए हुन्छ । थापा, शर्मा र पाण्डेले कांग्रेस र देशका लागि कुनै त्यस्तो स्मरणीय काम गरेका छैनन् ।

महामन्त्री थापा यस पटक प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार बने भने उनले जित्ने सम्भावना निकै कम छ । काठमाडौं ४ थापाका लागि सुरक्षित छैन । अन्य क्षेत्रहरूमा थापाको बारेमा केही भन्न सकिदैन ।

महामन्त्री शर्माले प्रत्यक्षमा उम्मेदवार नबन्ने भनेका हुन् । शर्मा समानुपातिक सांसद बन्ने चक्करमा लागेका छन् । शर्मालाई प्रधानमन्त्री वा कांग्रेसको सभापति बन्ने इच्छा त्यत्ति धेरै छैन । शर्मालाई मन्त्रीसम्म बन्न भने मन छ । झापाबाट उम्मेदवार बनिहाले भने शर्मा पराजित हुने सम्भाना धेरै छ ।

सहमहामन्त्री पाण्डेको अवस्था महामन्त्री शर्माको भन्दा फरक छैन । निर्वाचन क्षेत्र बाजुरा जिल्लामा पाण्डे कमजोर मानिन्छन् । यस पटक उम्मेदवार बने भने पाण्डे बाजुराबाट पराजित हुने स्थानीय नेताहरूले बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला पाण्डेले गतिलो काम गर्न सकेनन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८ अर्ब भ्रष्टाचारमा हिरासतमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग निकै हिमचिम थियो ।

समग्रमा भन्ने हो भने यस पटक महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्री पाण्डेले निर्वाचन जित्ने सम्भावना निकै कम छ । उनीहरूले शुरुमै पार्टीभित्रको बखेडालाई झिकेर सुरक्षित हुन खोजेका छन् । शर्मा र पाण्डे समानुपातिक सांसद बन्न खोजेका छन् । थापाले फण्डा गरेर काठमाडौं ४ का मतदातालाई एकपटकका लागि झुक्काएर फेरि पनि जित्न सकिन्छकि भनेर सहानुभूति बटुल्न खोजेका छन् ।

Published : Friday, 2025 December 26, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया