मुस्ताङ कांग्रेसमा समाजसेवी कृष्णकुमार शेरचनसहितका स्थानीय प्रवेश, पूर्वमन्त्री थकालीद्वारा स्वागत

लेते । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले मुस्ताङमा समाजसेवी एवम् व्यवसायी कृष्णकुमार शेरचनसहितका स्थानीयलाई पार्टी प्रवेश गराएका छन् ।

बिहीबार मुस्ताङको तेलेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, मुस्ताङका सभापति समेत रहेका पूर्वमन्त्री थकालीले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् । उनले कांग्रेसको सिद्धान्त र संगठन निर्माणमा लाग्न नवप्रवेशीहरूलाई निर्देशन दिएका छन् ।

सभापति एवम् पूर्वमन्त्री थकालीले भने, ‘अनुभवी, सक्षम र समाजमा विश्वास जितेका व्यक्तित्वहरूको यस प्रवेशले नेपाली कांग्रेसलाई थासाङ गाउँपालिका तथा सम्पूर्ण मुस्ताङमा अझ सशक्त, संगठित र जनमुखी बनाउने विश्वास लिइएको छ ।’ सभापति थकालीले नवप्रवेशी सबै साथीहरूलाई हार्दिक स्वागत तथा सफल राजनीतिक यात्राको शुभकामना रहेको बताएका छन् ।

कांग्रेस प्रवेश गरेका समाजसेवी कृष्णकुमार शेरचन श्री जनआदर्श अमरसिंह माध्यमिक विद्यालय, कोबाङको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङका अध्यक्ष एवम् निर्माण व्यवसायी हुन् । उनी थासाङ गाउँपालिका वडा नं. २, कोबाङ निवासी हुन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा थासाङ गाउँपालिका वडा नं. २ कोबाङका रामकुमार शेरचन, विमल शेरचन तथा थासाङ गाउँपालिका वडा नं. ३, धम्पु निवासी मनोज परियार पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस मुस्ताङका सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका साथै नेपाल महिला संघ, मुस्ताङकी अध्यक्ष मोहनकुमारी शेरचन, नेपाली कांग्रेस थासाङ गाउँपालिका इकाई सभापति एवं वडा नं. ५ का वडाध्यक्ष रुपेश तुलाचनलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 December 25, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया