तत्कालीन आईजीपी कुँवरले हटाएका सई फेरि पावर लगाएर बारा आए, सेटिङमा ३ जनाको लुटपाटको धन्दा
कृष्ण यादव
वीरगञ्ज । यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराएर अबैध रकम (घुस) लेनदेन हुने गरेको घटना नौलो होइन ।
यातायात व्यवस्था कार्यालय, कलैया, बारामा पैसाले धमाधम लाइसेन्स बिक्री भइरहेको आरोप लागेको छ ।
यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख अबिन्दर दास हुन् । दास आएको दिनदेखि नै यातायात व्यवस्था कार्यालय, कलैयामा पैसाको चलखेलमा धमाधम ट्रायल र लिखित परीक्षामा फेल भएकाहरूलाई पास गराउँदै आएको आरोप छ । दासले आफ्नो विश्वासपात्रहरूको माध्यमबाट रकम बुझेर धमाधमा फेल भएकाहरूलाई पास गराउँदै आएका छन् । आर्थिक आतंक नै मच्चिएको छ । सेवाग्राहीहरू यातायातका कर्मचारीहरूको आर्थिक आतंकबाट आजित बनेका छन् ।
दासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि माथिल्लो निकायसम्म आफ्नो सेटिङ्ग रहेको भन्दै कलैयामा आतंक मच्चाएका छन् ।
सेवाग्राहीका अनुसार दासले बिचौलियाहरू परिचालन गरेर उनीहरूमार्फत मोटरसाइकलको १० हजारदेखि १५ हजारसम्म चार पाङ्ग्रे गाडीको लागि २० देखि ३० हजारसम्म र हेभी गाडीको लाईसेन्सको ३० हजारदेखि ५० हजारसम्म रकम लिई फेल भएकालाई पास गराउने गरेको आरोप छ । बिचौलिया, दलालहरूसँग मिलेर ट्रायल सेन्टरमा सिसी क्यामेरा जडान भएपनि सिसी टिभी क्यामेरा रेकर्डिङ भएका भिडियोहरूलाई ईडिटिङ्ग गरि हटाउने गरेको स्रोतले जनाएको छ ।
लाइसेन्सको परीक्षा तथा ट्रायलमा पास हुने र पैसा दिएपछि कम्प्युटरमा लाइसेन्स भेरिफाई हुने तथा पास गराउने गरेको एक कर्मचारीले बताएका छन् ।
स्कुटर, ट्रक, मेसिनरी सवारीसम्मका लाइसेन्स सेटिङमार्फत १० हजारदेखि ७० हजार रुपियाँसम्ममा बिक्री भइरहेको आरोप छ । ट्रायलमा फेल भएकाहरूलाई समेत पैसा बुझाएर पास गराउने काम भइरहेको छ ।
जे१ एक्साभेटर, जे२ ब्याकहोइ लोडर, जे३ ग्रडर, जे४ फोर्कलिफ्ट, एच१ डोजर, एच२ रोड लोडर, आई१ क्रेन, आई२ फायर ब्रिगेड, ई३ लोडरलगायतका मेसिनरी सवारीहरूको ट्रायल सेटिङमार्फत पास गराउने योजनामा घुसको रकम संकलन गरिएको स्रोतले जनाएको छ ।
अबैध आर्थिक लेनदेनको कारोबारमा प्रमुख दासका विश्वासपात्र ट्रायल प्रमुख र उनको एकजना नेतादार लगाएत दर्जनभन्दा बढी दलालको टोली सक्रिय रहेको पीडितहरूको भनाइ छ ।
दासको विश्वास पात्र रघुनन्दन दासलाई तलदेखि माथिसम्म मन्त्रालय, प्रहरी, नेता, पत्रकारसम्म सेटिङ्ग मिलाउने गरेका छन् ।
दासको गैरकानूनी कार्यमा ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दीपक के.सी.को विश्वासपात्र सई किरण कार्की सझेदारी रहेको आरोप छ ।
यस अवैध कारोबारको केन्द्रमा ट्राफिक प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) किरण कार्की रहेको आरोप छ । यातायात कार्यालय बाराका प्रमुख अबिन्दर दास र सई कार्कीले बिचौलियामार्फत रकम असुली गरी धमाधम लाइसेन्स बेच्दै आएको स्रोतहरूको दाबी छ । सई कार्की ट्राफिक प्रहरी कार्यालय, बाराका प्रमुख तथा प्रहरी निरीक्षक दीपक के.सी.का विश्वासपात्र भएकोले ट्रायल सेन्टरमा उनको प्रभाव र दबदबा अत्यधिक रहेको बताइन्छ ।
स्रोतका अनुसार उनी जुनसुकै जिल्लामा सरुवा भए पनि सोर्स–फोर्सको बलमा ट्रायल सेन्टरमै बस्ने र त्यहीँबाट आर्थिक लाभ लिँदै आएका छन् ।
सई कार्की यसअघि पर्सा र रौतहटका ट्रायल सेन्टरमा बसेर लाखौं रुपियाँ असुली गरेको आरोपमा चर्चामा आएका थिए । उनको गतिविधि थाहा पाएपछि तत्कालीन मधेस प्रदेश प्रहरी प्रमुख वसन्त कुँवरले उनलाई मधेस प्रदेशबाटै हटाएका थिए । तर, अहिले पुनः बारा ट्रायल सेन्टरमा सक्रिय भएपछि अवैध कारोबारले झन् खुला रूप लिएको कर्मचारीहरू बताउँछन् ।
नाम नछाप्ने सर्तमा एक कर्मचारी भन्छन्, ‘यातायात कार्यालयमा प्रमुखपछि दोस्रो स्थानमा सई कार्कीको नै चल्छ । ट्रायल सेन्टरमा कसले पास हुने, कसले फेल हुने भन्ने धेरै हदसम्म उनीकै हातमा छ ।’
ट्रायल सेन्टरमा पास भएकाहरूलाई पनि ट्राफिक प्रहरीको सहयोगले फेल समेत गर्ने गरेको सेवाग्राहीहरूको गुनासो छ । सई कार्की फेल भएकाहरूलाई पैसा लिई पास गराउने गरेको आरोप छ ।
लिखित परीक्षा र ट्रायल परीक्षामा ट्राफिक प्रहरीको अनिवार्य उपस्थिति हुन्छ । ट्राफिक प्रहरीले नचाहने हो एउट सिन्को पनि हल्लिदैन । ट्राफिक प्रहरी कार्यालयका मधेश प्रदेश प्रमुख एवम् जिल्ला प्रहरी ट्राफिक कार्यालय, बाराका प्रमुखहरूको मिलोमतोमा भ्रष्टचार बढेको आरोप छ ।
लाइसेन्स सम्बन्धमा अख्तियारले अन्य ठाउँमा छानबिन गरेता पनि यातायात व्यवस्था कार्यालय, कलैयाका लागि मौन बसेको सेवाग्राहीहरूको गुनासो छ । सेवाग्राहीहरूले यातायात व्यवस्था कार्यालय, कलैयामा स्टिङ्ग अप्रेशन सञ्चालन गर्न माग गरेका छन् ।
गौरस्थित कार्यालयमा रहँदा अनियमितता मच्चाएका अरबिन्द दास अहिले बाराको कार्यालयमा पुनः सक्रिय भएको पाइएको छ । दाससम्बन्धी विगतका विवादहरूमा नेपालीकरण प्रक्रियामा अनियमितता, कागजात नष्ट प्रकरण र निलम्बनसम्बन्धी उजुरीहरूसमेत रहेको बताइन्छ । यी घटनाले अहिलेको विवादलाई अझ गम्भीर बनाएको छ ।
बाराको यातायात कार्यालयमा भइरहेको यो अव्यवस्था दिगो रूपमा लुकाउन सकिने अवस्था छैन । कानूनी शासनको प्रत्याभूति गर्न र भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्न तत्काल प्रभावकारी छानबिन र कारबाही आवश्यक भएको स्थानीयको धारणा छ ।
यी तीनजनाको अबैध लुटपाटको धन्दाविरुद्ध पीडितहरूले अख्तियार दुरुपयोग अनुसन्धानमा लिखित उजुरी दिने तयारी गरेका छन् । अख्तियारका मधेस प्रदेशको कार्यालयका कर्मचारीहरूले बारा यातायातको अबैध धन्दाको गतिविधि रोक्नेतिर खासै चासो नदिएको आरोप छ । उनीहरूका विरुद्ध विभिन्न निकायमा पीडितहरूले मौखिक उजुरी गरे पनि सुनुवाई भएका छैनन् ।
प्रतिक्रिया लिन यातायात व्यवस्था कार्यालय, कलैयाका कार्यालय प्रमुख दाससँग सम्पर्क गर्दा उनले नम्बरमा कल फर्वाड गरेकाले फोन सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया