गगनद्वारा कांग्रेसको विधान विपरित राखिएका प्रस्तावहरू नेताहरूद्वारा सिधै अस्वीकार
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले महाधिवेशन गर्ने भन्दैमा विधि र विधानलाई कुल्चेर जान नसकिने धारणा राखेका छन् ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा कांग्रेसको महाधिवेशन, क्रियाशील सदस्यताको विवाद र निर्वाचनका विषयमा नेताहरूले धारणा राखेका छन् । नेताहरूले वडादेखि केन्द्रसम्मको महाधिवेशन पार्टीको विधान र प्रक्रियाअनुसार गर्नुपर्ने बताएका हुन् । महामन्त्री गगन थापाले वडा र क्षेत्रको अधिवेशन गरेर एकैपटक केन्द्रको महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । थापाको प्रस्तावलाई नेताहरूले अस्वीकार गरिदिएका छन् । पार्टीको विधान विपरित आएको महामन्त्री थापाको महाधिवेशनको प्रस्तावलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने नेताहरूले बताएका छन् । थापाले वडा र क्षेत्रको निर्वाचन गरेर एकैपटक केन्द्रको महाधिवेशन गरेर पार्टी कब्जाको रणनीति बनाएका छन् ।
महामन्त्री थापाले क्रियाशील सदस्यताको विवाद समाधान हुन नसकेका जिल्ला र क्षेत्रहरूमा केन्द्रबाट प्रतिनिधि पठाएर सिधै हस्तक्षेप गर्ने प्रस्ताव पनि राखेका छन् । जिल्ला र क्षेत्र तथा वडाको अधिकारलाई पनि महामन्त्री थापाले खोस्न खोजेका छन् ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘कार्यतालिका सम्बन्धमा महामन्त्रीजीले वडा र क्षेत्रको गरेर कार्यतालिकामा स्टे (रोकेर) हुने हो कि ? क्रियाशील सदस्य समयमा सकिने भएन भन्ने आशयको कुरा राख्नु भएको थियो । त्यस विषयमा अन्य साथीहरूले कार्यतालिकाको बारेमा हामीले व्यवहारिक, कार्यान्वयन हुने किसिमबाट निर्णय लिनुपर्छ, निर्णय गर्ने, कार्यान्वयन गर्न नसक्ने हिसाबले जानु हुँदैन भन्ने कुरा भएको छ ।’
डा.महतले कांग्रेस निर्वाचनमा केन्द्रित रहे पनि चुनाव हुने वातावरण सरकारबाट गराउन नसकेको बताए । उनले भने, ‘हामी निर्वाचनको होमवर्क गर्छौं । तर, सरकारले फागुन २१ गते निर्वाचन गरेन भने के गर्ने ? त्यसको लागि तयारीमा सरकार कति गम्भीर छ ? राष्ट्रपतिको उपस्थितिमा शीर्ष नेताहरूको प्रधानमन्त्रीसँग पनि कुराकानी भएको छ ।’
प्रवक्ता डा.महतले भने, ‘नेताहरूले आफ्नो कुरा राख्नुभयो । समग्रमा कार्यबाहक सभापतिले निर्वाचनका सन्दर्भमा समानुपातिक सूची पेश गर्नुपर्ने कुरा, राष्ट्रिय सभाको सूची तयार गर्नुपर्ने कुराहरू राख्नुभयो । यसमा निरन्तर काम गर्नुपर्ने कुरा राख्नुभयो । साथीहरूले छलफलमा आएका विषयवस्तुहरूमा धारणा राख्नुभयो ।’
‘अनुशासन समितिको संयोजकले पनि अनुशासन समितिले गरेको कारबाहीमा आएका निवेदनका विषयमा कुरा राख्नुभयो,’ प्रवक्ता डा.महतले भनेका छन् । कांग्रेसले अनुशासनको कारबाहीमा परेका नेता तथा कार्यकर्ताहरूको कारबाही फुकुवा गर्ने तयारी गरेको छ ।
प्रवक्ता डा.महतले भने, ‘महाधिवेशन कार्यतालिका सम्बन्धमा र राष्ट्रियसभाको सूची, समानुपातिक सूचीको सम्बन्धमा कसरी टुंगो लगाउने कुरामा छलफल अगाडि बढेको छ ।’
डा.महतले भने, ‘प्रदेश सभामा बन्द सूचीमा रहेका साथीहरू, बन्द सूचीबाट आफ्नो नाम हटाएर संघीय समानुपातिकमा जान चाहनुहुन्थ्यो । १९ जना त्यस्तो सूचीहरू हटाउन चाहने साथीहरूको सूची पढियो र सूचीलाई पास गरेर निर्वाचन आयोगलाई जानकारी पठाउने निर्णय भएको छ ।’
बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू महेन्द्र यादव र बद्री पाण्डे तथा सदस्यहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, एन.पी.साउँद र आनन्दप्रसाद ढुङ्गानाले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।
बुधबारको बैठकमा धारणा राख्ने क्रम नसकिएपछि अर्को बैठक पुस १० गते बिहीबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया