अमेरिकामा जनसम्पर्क समितिहरूको एकसाथ अधिवेशन, कांग्रेसद्वारा शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकामा रहेका नेपाली जनसम्पर्क समितिका सबै च्याप्टरहरूको अधिवेशन एकसाथ हुन लागेको खबरले खुसी लागेको जनाएको छ ।

शनिबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नेपाली जनसम्पर्क समितिलाई शुभकामना सन्देश पठाएर भनेका छन्, ‘म अत्यन्त खुसी छु । सिर्जना र सामर्थ्यले आपनो पहिचान आर्जन गरीरहनु भएका सबै साथीहरूलाई हार्दिक बधाईका साथ जय नेपालको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु ।’

‘आज नेपाली जाति संसारभर छरिएर रहेको छ । जीवनका अनेकौ उकाली ओरालीहरूका बीच नेपाललाई माया गरेर, नेपाली सस्कृतिलाई माया गरेर नेपाली लोकतन्त्रको सम्वर्धनका निम्ति क्रियाशील हुनुहुन्छ,’ खड्काले भने, ‘तपाईहरूको यो सक्रियता नेपाली लोकतन्त्रको सवल पक्ष हो ।’

कार्यबाहक सभापति खड्काले भने, ‘लोकतान्त्रिक अभ्यास गर्ने, आपसी भाईचारा बाँडने, सुख दुःख साटने र मित्र मिलन गर्ने यो अवसर एउटा सुन्दर अनुष्ठानमा परिणत हुने मेरो विश्वास छ ।’

‘आज नेपाली जाति संसारको जहाँ रहे पनि उसले नेपाललाई माया गरिरहेछ । त्यही मायाको जगमा नेपाली जाति विश्वभर फैलिरहेछ,’ उनले भने ।

‘तपाईंहरू जहाँ हुनुहुन्छ, नेपाल छ, नेपालीपन छ संस्कृति छ । त्यो शाश्वत कुरालाई जोगाइराख्नु आजको आवश्यकता पनि हो,’ खड्काले भने, ‘नेपाल अहिले विषम परिस्थितिमा छ । इतिहासकै सबैभन्दा बढी कठिन अवस्थामा छ ।’

उनले भने, ‘नेपालको लोकतन्त्र पनि जोगाउनु छ नेपालीपन पनि जोगाउनु छ । यतिखेर तपाईंको साथ सहयोग लोकतन्त्र र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई मात्र होइन समस्त नेपाललाई चाहिएको छ ।’

‘तपाईहरूको अधिवेशनमा यस विषयमा गम्भीर वहस हुने मैले विश्वास गरेको छु,’ कार्यबाहक सभापति खड्काले भने, ‘तपाईहरूको सबै कामहरूको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’

Published : Saturday, 2025 December 20, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया