पोखरामा सरकारी विद्यालयको भवन भाडा लगाउँदा भ्रष्टाचार, अख्तियारले चलायो मुद्दा

काठमाडौं । कास्कीको राष्ट्रिय माध्यमिक विद्यालयको भवन कानून विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना पदाधिकारीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आइतबार विशेष अदालत, काठमाडौंमा अख्तियारले कास्कीको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलको करिब ४ रोपनी जग्गामा निर्मित भवनसहितका सार्वजनिक सम्पत्ति निजी प्रयोगमा लगाई दुरुपयोग गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अनुसन्धानबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा महानगरपालिका– १ का वडाध्यक्ष साहारा प्रधान लगायत सदस्यहरू, साथै निजी बोर्डिङ स्कूल सञ्चालक राजु के.सी. र प्राचार्य सुनिता कुँवर के.सी.ले मिलेमतोमा गरी विद्यालयको नाममा रहेको जग्गा १२ वर्षसम्म निजी बोर्डिङ स्कुललाई भाडामा दिएको पाइएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

पोखरा महानगरपालिकाको चेतावनी र करार रद्द गराउन भएको निवेदन पश्चात पनि अटेर गरी १५ लाख २९ हजार ४०८ रुपियाँ बराबरको सरकारी सम्पत्ति दुरुपयोग गरेको अख्तियारको ठहर छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १५ लाख २९ हजार ४०८ रुपियाँ बिगो कायम गरी कैद र जरिवाना सजाय माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

Published : Sunday, 2025 November 23, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया