कांग्रेस सहमहामन्त्री चौधरीका दाजुको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरीका दाजु एवं नेपाल शिक्षक संघ, बाराका वरिष्ठ जिल्ला सदस्य रामाकान्त चौधरीको निधन भएको छ ।

रामाकान्तको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा २०८२ भाद्र ६ गते निधन भएको कांग्रेसद्वारा शुक्रबार जारी शोक वक्तव्यमा उल्लेख छ । रामाकान्त चौधरीको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको जनाएको छ ।

विक्रम संवत् २०१३ भाद्र १५ गते जन्मिएका रामाकान्त चौधरीले लोकतन्त्रको स्थापना तथा पुनर्स्थापनाका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

लोकतन्त्र र जनताका हक अधिकारका लागि गरिएको आन्दोलन र संघर्षहरूका क्रममा रामाकान्त चौधरीले पटक–पटक जेलनेल भोगेको कांग्रेसले जनाएको छ । स्व.चौधरीले स्थानीय, प्रदेश तथा संघीय निर्वाचनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

समाजसेवामा समेत सक्रिय रहँदै आएका स्व.रामाकान्त चौधरी श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वेलवा धोधर्पाका प्रधानाध्यापक रहेका थिए ।

विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा प्रारम्भ गरेका रामाकान्त चौधरीको निधनबाट नेपाली कांग्रेसले एक होनाहार व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

रामाकान्त चौधरीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘रामाकान्त चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ सभापति देउवाले भने ।

Published : Friday, 2025 August 29, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया