गुण्डा नाइकेले परिचित ‘राधे’द्वारा बदलिएको २.० कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । अहिले पनि प्रहरीको उच्च निगरानीमा रहेका र बिगतमा काण्डै काण्डमा मुछिएका गुण्डा नाइकेको नामबाट परिचित ‘राधे’ भनिने राधाकृष्ण भण्डारीले पनि नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा राधेले खुलातर्फ कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् । राधे धादिङबाट महाधिवेशन प्रतिनिधि छन् ।

गगन थापाले नेपाली कांग्रेसलाई बदलिएको २.० कांग्रेस भनेर ब्याख्या गरेका छन् । गगनको २.० कांग्रेसका उम्मेदवारहरू र विवादित पृष्ठभूमिका व्यक्तिहरूलाई कांग्रेसको १५औँ महाधिवेशन नामक ‘वासिङ मेसिन’मा हालेर सफा गर्न लागेको भनेर चर्चा समेत भइरहेका छन् । भ्रष्टाचार, आपराधिक गतिविधि लगायतमा संलग्नहरूमाथि निर्मम हुने बताउने गरेका गगनको कार्यसमितिका लागि उम्मेदवारी दिएकाहरू विवादित छविका देखिएपछि गम्भीर प्रश्न उठेको छ ।

यसैबीच, राधेले भनेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुला तर्फको उम्मेदवारका रूपमा राधाकृष्ण भण्डारी (राधे)लाई यहाँहरूको अमूल्य मत, साथ र समर्थनको हार्दिक अपेक्षा गर्दछु ।’

‘लोकतान्त्रिक मूल्य, पार्टीप्रतिको निष्ठा र संगठनको सुदृढीकरणका लागि निरन्तर समर्पित रहँदै आउनुभएका राधाकृष्ण भण्डारीलाई अत्यधिक बहुमतका साथ विजयी गराउन सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक अनुरोध गर्दछु,’ फेसबुकमा राधेले भनेका छन् ।

‘तपाईंहरूको एक मतले सक्षम नेतृत्वलाई बलियो बनाउनेछ । अमूल्य मत प्रदान गरी अत्यधिक बहुमतका साथ विजयी गराइदिनुहुन हार्दिक अपस्ल गर्दछु,’ राधेले भनेका छन् ।

को हुन् राधे ?

प्रहरीको ईन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को खुकुरी प्रहारबाट २०७० सालको पुस महिनामा राधे गम्भीर घाइते भएका थिए । राधेलाई चरीले बालाजु क्षेत्रमा खुकुरी प्रहार गर्दा गम्भीर भएका थिए । घाइते राधेलाई शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । तत्कालीन समयमा एउटा पार्टीमा राधे र चरी भेटिएपछि दुवै समूहबीच झगडा भएको थियो । झगडा भएको केही समयपछि फर्किएर आएका चरीले राधेको खुट्टा र ढाडमा खुकुरी हानेर गम्भीर घाइते बनाएको तत्कालीन समयमा प्रहरीले जानकारी दिएको थियो । ‘चरीले खुकुरी हानेको खुलेकाले अहिले खोजी गरिरहेका छौं,’ तत्कालीन समयमा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुबोध घिमिरेले भने ।

एकै समूहमा रहेका राधे र चरीबीच विवाद भएर छुट्टिएपछि यी दुवैले एक–अर्का समूहका सदस्यलाई आक्रमण गर्दै आएका थिए । राधेले पाँच महिनाअघि चरीलाई गोली हानेका थिए । धादिङबाट काठमाडौं फर्किइरहेका बेला नैकापमा गोली प्रहार हुँदा चरीको पाखुरामा गोली लागेको थियो ।

अनुसन्धानमा धादिङ बजारबाटै राधेले चरीलाई पछ्याउँदै नैकापमा गोली हानेको अहिले पनि गुगल सर्च गर्दा नाम चलेका राष्ट्रिय दैनिक पत्रिका र अनलाइनहरूको समाचारहरू हेर्न सकिन्छ । तत्कालीन समयमा राधे आफैंले प्रहरीमा आत्मसर्मपण गरेका थिए । राधेले बयानमा आफूसँग भएको बन्दुक चरीको भएको बयान दिएपछि प्रहरीले चरीलाई पक्राउ गरे पनि दुबैलाई जिल्ला प्रशासन कार्यालयले सामान्य धरौटीमा रिहा गरेको थियो ।

तत्कालीन समयमा एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यय समेत रहेका चरी संगठित अपराधमा कहलिएका व्यक्ति हुन् । गैंडाको खाग तस्करी, ठेकेदारलाई धम्क्याएर रकम असुली गरेको लगायत अभियोगमा उनी पटक–पटक पक्राउ परे पनि बलियो राजनीतिक संरक्षणका कारण कानूनी कारबाहीबाट जोगिँदै आएका छ । राधे कांग्रेसको संरक्षणमा आपराधिक गतिविधिमा सक्रिय रहेका थिए । चरी साउन २१ गते २०७१ मा काठमाडौंको भीमढुङ्गामा भएको प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

त्यसैगरी, २०७७ असोज महिनामा विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएको भन्दै ‘राधे’लाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको थियो ।

धादिङ सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको उजुरीको आधारमा राधे पक्राउ परेको तत्कालीन समयमा धादिङक प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताएका थिए ।

सिद्धलेक गाउँपालिकामा अवैध रुपमा सञ्चालन गरेको राधेको क्रसर जनप्रतिनिधिले बन्द गराउन खोजेपछि उनीहरूबीच विवाद भएको थियो । राधे पटक–पटक पक्राउ पर्दै छुट्दै आएका विवादित व्यक्ति हुन् । राधेमाथि यसअघि धादिङकै आयुष तामाङमाथि खुकुरी प्रहार गरेको अभियोग पनि लागेको थियो ।

Published : Tuesday, 2026 October 6, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया