एआईजी दाहाल निलम्बन हुँदा ३ डीआईजीलाई फाइदा, प्रतिस्पर्धीको गन्दा खेल छभने गृहमन्त्रीले हेर्नुपर्छ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तथाकथित ‘बिचौलिया’ इनाम सापकोटासमेतसँग जोडिएको भन्दै सशस्त्र प्रहरी बल नेपालका एआईजी वंशीराज दाहाल निलम्बनमा परेपछि त्यसले तरंग ल्याइदिएको छ ।

पूर्वप्रधानन्यायाधीश जबरासँग मिलेर आफ्नो पक्षमा फैसला गराउन चलखेल गरेको आरोपमा विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खु कारागारको थुनाबाट सिन्धुपाल्चोकमा स्थानान्तरण गरिएको छ । भट्ट छुटाउन पूर्वप्रधानन्यायाधीश जबरासमेतले चलखेल गरेको आरोप प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूको रहेको प्रहरी अधिकृतहरूको भनाइ छ ।

आतंकवाद र अन्तरदेशीय अपराध अनुसन्धानमा खटिने प्रहरीको विशेष ब्यूरोले बुधबार दिउँसो करीब साढे १ बजे सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । अमेरिकाको ग्रिनकार्ड भएका सापकोटा केही दिन पहिले मात्र काठमाडौं आइपुगेका थिए । भारतको नयाँदिल्ली जाने तयारीमा रहेका बेला उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

सापकोटाको मोबाइलको जाँचबाट खुलेको विवरणसमेतका आधारमा सशस्त्र प्रहरी बलका अपरेसन विभाग प्रमुखसमेत रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दाहाललाई निलम्बन गरिएको छ । प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीश जबरालाई लगिएका बेला एआईजी दाहाल बिहान ३ बजे गई भेटेर ५ बजे फर्किएका थिए । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपालका आईजीपी नारायणदत्त पौडेलसँग त्यसबारे सोध्दा एआईजी दाहालले आफूलाई अग्रिम जानकारी नदिइएको बताएको भेटेर आएपछि खबर गरिएको ब्रिफिङ सुनाएको गृह मन्त्रालयका एक उच्च कर्मचारीले भनाइ छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले सुरुमा एआईजी दाहाललाई गम्भीरतापूर्वक नलिएर एआईजी दाहालको पदावधि थपका लागि गृह मन्त्रालयमा सिफारिस गरेको जनाइएको छ । सशस्त्र प्रहरी नियमावली–२०७२ मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सरकारले एआईजी र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ । त्यसअनुसार अधिकांश एआईजी र डीआईजीको एक वर्ष पदावधि थप हुँदै आएको छ । पदावधि थप नभएको अवस्थामा २७ असोजमा दाहाल अवकाशमा जाँदै थिए ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको प्रस्तावपछि उनको म्याद थप गर्ने, नगर्ने निर्णय मन्त्रालयले गर्नुपर्ने थियो । त्यहीबीच गृहमन्त्री गुरुङसमक्ष केही मेसेजको स्क्रिन सट समेत पुगेको छ । जसका कारण एआईजी दाहाल अवकाशको मुखमा निलम्बित हुनुपरेको छ ।

गृहमन्त्री गुरुङले दाहाललाई स्पष्टीकरण सोध्न सशस्त्र प्रहरीका आईजीपी पौडेललाई निर्देशन दिएका थिए । दाहालले स्पष्टीकरणमा आफू पारिवारिक सम्बन्धका आधारमा जबरालाई भेट्न गएको दाबी गरेका छन् भने पदीय आचरणविपरीतका कुनै कार्य नगरेको जिकिर गरेका छन् । प्रमाणसमेत आइसकेको भन्दै सोमबार गृह मन्त्रालयले उनलाई तत्कालै निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न सशस्त्र प्रहरीका आईजीपी पौडेलसमेत मन्त्रालय पुगेका थिए ।

एआईजीका रूपमा दाहालको म्याद थप नभएमा तीन जना डीआईजीमध्ये एकजनालाई एआईजीमा बढुवाका लागि फाइदा पुग्नेछ । एआईजी दाहालको म्याद थप हुने निश्चितप्रायः भएको छ । सशस्त्र प्रहरीमा डीआईजीहरू सुरेश श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई फाइदा पुगेको छ । उनीहरू एआईजी बढुवाका लागि प्रतिस्पर्धामा छन् । एआईजी दाहालबारे छानबिन गर्ने जिम्मेवारी अर्का एआईजी अञ्जनीकुमार पोखरेलले पाएका छन् ।

निलम्बनमा परेका एआईजी दाहालले आफ्नो संगठनको आचारण विपरीतका कार्य गरेका छन् भने उनी कानूनअनुसार दण्डको भागिदार हुनै पर्छ । होइन भने प्रतिस्पर्धीहरूबाट भएका वा गरिएका अदृष्य गतिविधि छन् भने त्यो विषयलाई पनि गृहमन्त्री गुरुङले विशेष चासो र ध्यानपूर्वक सोँच्नुपर्छ । गृहमन्त्रीको सानो भुलचुकले एआईजी दाहालको जीवनभरिको मेहनतमा दाग लाग्न सक्छ ।

प्रहरीभित्र बढुवा पाउन वा राम्रो ठाउँमा पोस्टिङ जानका लागि प्रतिस्पर्धीहरूबाट गन्दा खेल र गतिविधि हुने गरेका छन् । त्यस्ता गन्दा खेलबाट एर्आइजी दाहाललाई अन्याय हुन नहुने आवाज पनि उठेको छ ।

Published : Wednesday, 2026 October 7, 8:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया