कांग्रेस सभापति देउवासँग उखु किसानहरूद्वारा भेट, माग सम्बोधनमा पहल गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आन्दोलनरत उखु किसानहरूले भेट गरेका छन् ।

बुधबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग भेट गरेर उखु किसानहरूले आफूहरूको आन्दोलन र मागका विषयमा जानकारी गराएको नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले बताएका छन् । डा.अन्सारीले भने, ‘उखु किसानहरूले सभापति शेरबहादुर देउवाज्यूसँग भेट गरेर आफूहरूको माग सम्बोधनका लागि आग्रह गर्नुभएको छ । सभापतिज्यूले पनि उखु किसानहरूको मागप्रति आफू साथमा रहेको बताउनुभएको छ ।’
उखु किसानहरू झण्डै एकहप्तादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ७० रुपियाँबाट घटाएर ३५ रुपियाँमा झारेपछि किसानहरू आन्दोलनमा छन् ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको प्रतिक्वीन्टल ३५ रुपियाँलाई तत्काल पहिलाकै दर ७० रुपियाँ कायम गर्दै बक्यौता रकम भुक्तानी गर्नुपर्ने माग उखु किसानको छ ।

Published : Thursday, 2025 August 28, 6:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया