माओवादीकै सांसदद्वारा गृहमन्त्री लेखकको प्रशंसा

काठमाडौं । आमाको नामबाट सन्तानले नागरिक पाउने लगायतका विषय समेटिएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधयेक शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।

गृहमन्त्री रमेश लेखकले सभाअन्तर्गतको विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए ।

गृहमन्त्री लेखकले संसदले विधेयकलाई उन्नत, व्यवहारिक, पारदर्शी बनाएको जानकारी गराए । उनले ऐतिहासिक प्रस्थान गरेको भन्दै यसमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् ।

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए तापनि बाबुको पहिचान खुलाउन नसकेको व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानि निजलाई वंशजको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ ।

लेखकले नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिलाई अङ्गिकृत नागरिकता प्रदान गर्ने, कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा आमा वा बाबुमध्ये कुनै एकको नाम, थर र ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा निजले उल्लेख गर्न नचाहेको आमा वा बाबुको नाम, थर र ठेगाना उल्लेख नगरी नागरिकता जारी गर्ने विषय समेटिएको बताए ।

बाबु वा आमामध्ये एकजना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र प्रदान गर्ने, जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानका नागरिकता प्राप्ति र बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्कोको नेपाली नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन रहेको व्यक्तिलाई अङ्गीकृत नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको गृहमन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिने विषय पारित गराउन खेलेको नेतृत्वदायी भूमिकाप्रति राष्ट्रिय सभामा रहेका प्रतिपक्ष दलका सांसदहरूले पनि प्रशंसा गरेका छन् ।

अदालतबाट विभिन्न समयमा जारी भएका प्रमादेसहरूको कार्यान्वयन साथै सबै नागरिकले न्याय प्राप्त गरेको अनुभूति भएको सांसद कृष्ण रोकायाले बताए ।

प्रमुख प्रतिपक्षीदल माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्रीको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनले यो विधेयक एउटा माइलस्टोनका रुपमा स्थापित भएको व्यहोरा समेत बताएका छन् ।

सांसद मायाप्रसाद शर्माले भने यो प्रत्यायोजित विधानको हकमा सबैभन्दा कम प्रत्यायोजित अधिकार भएको बिधेयक बनेको मा सबै मन्त्रीलाई गृहमन्त्रीबाट सिक्न समेत अपील गरेका गरेका छन् ।

सांसद पदम परियारले गृहमन्त्री रमेश लेखकको सोझबुझ पूर्ण कदमले हजारौं नागरिको अनुहरमा खुसी छाएको र यो कदमले नागरिकका तमाम नागरिकता सम्बन्धि समस्या समाधान भएकोमा उच्च प्रशंसा समेत गरेका छन् ।

विधयेकमा विद्यमान समयमा बदलिदो सामाजिक परिवेश अनुसार पहिचान विहीन भएर बस्नु परेको नेपाली बाबु वा आमाका सन्तानलाई वैदेशीक यात्राका लागि आवश्यक नाबालक परिचयपत्र प्राप्त गर्न विद्यमान समस्या समाधान हुन जाने व्यवस्था समेत गरिएको छ ।

Published : Saturday, 2025 August 23, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया