प्रचण्डले सहकारी ठगका अभियुक्त रवि भेटेपछ गगनले भने– त्यही मुद्दामा छविलाल भन्ने नागरिक छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापाले सरकारमा रहेका दलहरूको ढंग नपुग्दा अहिले सिंगो देश एउटा ठगी अभियुक्तको पछि लागेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै थापाले सहकारी ठगीमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा आबद्ध दर्जनौं मानिसहरू पुर्पक्षका लागि थुनामा, कोही धरौटीमा छुटेपनि देश एउटा ठगी अभियुक्तको वरिपरि घुमेको बताए ।
उनले भने, ‘कोही धरौटीमा छुटेका छन्, कोही पुर्पक्षमा छन्, कोही फरार छन् खोजी भइरहेको छ । यही गोर्खा मिडियासँग आबद्ध दर्जनौं मानिसहरू भित्र छन् । एउटा ठगीका अभियुक्तको वरिपरि देश घुमेको छ ।’
कांग्रेस सांसद थापाले प्रतिपक्षी दलले आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रहपूर्व राख्यो कि भन्नु अस्वाभाविक नहुने बताए ।
सातवटा अदालत र सर्वोच्च अदालतले पनि ठगीमा संलग्न भएको देखाउँदा पनि प्रतिशोध लिएको देखाउन पूर्वप्रधानमन्त्रीहरूको समेत दौड चलेको सांसद थापाले बताए ।
‘सर्वोच्च अदालतले त यो–यो कारणले गर्दा ठगीमा संलग्न भएको देखिन्छ भनेर ८ वटा बुँदाम बताएर नवौं बुँदामा त्यसकारणले म तिमीलाई बाहिर छोड्न सक्दिनँ भन्दै गर्दा कोकोहल मच्चाएर पूर्वप्रधानमन्त्रीहरूको दौड छ अहिले,’ थापाले भने, ‘कल्ले पहिले भेट्ने कहिले पहिले ढ्याप्प गर्ने भनेर ।’
त्यही मुद्दामा छविलाल भन्ने नागरिक छभन्ने सम्झना कसैलाई नभएको थापाले बताएका छन् ।
‘यत्रो ठूलो कोकोहाल बनाइएको छ । राज्यले प्रतिशोध लिएको भन्ने स्थिति बनाइएको छ,’ सांसद थापाले भने, ‘हामी निकम्मा भएर हो । गर्न सक्ने काम नगरेर हो ।’
सांसद थापाले प्रतिशोध साँधिएको भन्ने भाष्य चिर्न तीनवटा काम तत्काल गर्नुपर्ने बताए । उनले भने, ‘लाइन लगाएर बचतकर्ताको बचत फिर्ता गरौं । सहकारीको ठगीमा कोही मान्छे संलग्न छ भने कांग्रेस होस् एमाले होस् एउटा दयामाया नराखौं त । पाता कसेर लैजाऔं त । सहकारीबारे प्रतिवेदनले दिएको सबै सुझाव कार्यान्वयन गरौं त । कसले प्रतिशोध भन्न सक्छ ।’
सांसद थापाले सरकारमाथि सेलेक्टिभ भएको भन्ने आरोप लाग्नु स्वाभाविक भएको पनि बताएका छन् । उनले भने, ‘जापान मानिस लिएर गएर छाडिएको विषयमा दयामाया नराखेको भए अहिले अमेरिका मान्छे लिएर गएर छाडेकालाई कारबाही गरौं भन्दा हल्ला हुन्थ्यो । एक स्वरले गरौं गरौं भन्थे । हिजो जापान लिएर जानेलाई बढी माया गरेपछि अहिले अमेरिका लिएर जानेलाई कारबाही गरौं भन्दा सरकार तिमी सेलेक्टिभ भयौं, ठूला पार्टी सेलेक्टिभ भयौ भन्न प्रश्न उठ्दैन ?’
थापाले सहकारी ठगी प्रकरणमा सरकारको भूमिका निकम्मा भएको र एउटा व्यक्तिमाथि मात्रै बहस केन्द्रित गरेर हजारौं पीडितलाई अन्यायमा पारेको बताए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु जेलमा पुगेर बुधबार भेट गरेपछि कांग्रेसका सांसद थापाले विरोध गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया